धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा हुने



सन्तोष रुचाल, धनकुटा

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले चुनावी कार्यक्रमलाई तीव्रता पनि दिएका छन्। करिब २० वर्षपछि नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनको अहिले जिल्ला, नगर, वडामा राजनीतिक दलहरुले सञ्चालन गरेपछि चुनावी माहोल तात्नेक्रम शुरु भएको छ। पदसहित वडाका आकांक्षी उम्मेदवार पनि धेरै देखिएका छन्।

उम्मेदवारको सूची लामो भएपछि प्रमुख राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस परेको छ। विगतको निर्वाचनको परिणाम र अहिलेको चुनावी माहोल पनि हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। ती दलहरुले उम्मेदवारको ढुंगो लगाइनसकेको भए पनि आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै आएका छन्।

धनकुटालाई विगतदेखि नै एमालेले आफ्नो लालकिल्ला बनाउँदै आएकाले तीन नगरपालिका र चारै गाउँपालिका जित्ने दाबी गर्दै आएको छ। नेपाली कांग्रेसले पनि आफ्नो पार्टीको एजेन्डा, मुद्दाका कारण यस पटक विगतको परिणामलाई उल्टाउने दाबी गरेको छ। कांग्रेसले अन्य दलसँग एलायन्स गरेर जाने पार्टीले विकल्प खुला गरेकाले निर्वाचनमा ७ वटा स्थानीय निकायमध्ये ५ वटामा पार्टीको जित सुनिश्चित भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई दाबी गर्छन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा २०६४ को संविधानसभाको निर्वाचनमा दुई वटै क्षेत्र जितेको नेकपा माओवादी केन्द्र भने अहिलेसम्म मौन देखिएको छ। २०७० को निर्वाचनमा माओवादी केन्द्रले दुईवटै क्षेत्र गुमाएको थियो। तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा सबैभन्दा बढी एमालेमा उम्मेदवारको आकांक्षी देखिएका छन्। धनकुटा नगरपालिकाको मेयर तथा उपमेयरका लागि जिल्ला कमिटी सचिवालय सदस्य चिन्तन तामाङ, अर्जुन राई, नरेन्द्र पोख्रेल, उमेश घिमिरे, नगर कमिटी अध्यक्ष अर्जुन छारा चर्चामा छन्।

महिलातर्फ प्रदेश संगठन कमिटी सदस्य सकुन्तला बस्नेत, पूर्वजिल्ला कमिटी उपसचिव हिमादेवी भट्टराई, निर्वाचन कमिटी सदस्य गीता अधिकारी, जिल्ला कमिटी वैकल्पिक सदस्य तारा तितुङको नाम चर्चामा रहेको छ। त्यस्तै नेपाली कांग्रेसमा जिल्ला उपसभापति नवीन किशोर शाक्य, कोषाध्यक्ष दिनेश राई, महिलातर्फ सावित्री श्रेष्ठ र ज्योति प्रधानको नाम चर्चामा रहेको छ। यता नेकपा माओवादी केन्द्रमा भने गणेश विष्ट र सीताराम श्रेष्ठको मेयर र उपमेयरमा कुसुम श्रेष्ठ जुलीको नाम चर्चामा रहेको भए पनि नेकपा माओवादी केन्द्र धनकुटाले भने उम्मेदवारको बारेमा चर्चा गर्न चाहेनन्।

राप्रपाबाट बालानन्द भुर्तेल, यज्ञबहादुर कार्की र तेजबहादुर विष्टको नाम चर्चामा रहेको छ। पाख्रिवास नगरपालिकामा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य भीम राई, जिल्ला कमिटी वैकल्पिक सदस्य बिर्ख राई ‘राजन’, महेन्द्र भट्टराई, डागम राई, नगर कमिटी अध्यक्ष शान्तिराम गौतम टिकटका लागि लविङ गरिरहेका छन्। महिलातर्फ जिल्ला कमिटी सदस्य नम्रता देउजा, वैकल्पिक सदस्य देवकला पौडेल तिम्सिनाले मेयर तथा उपमेयरका लागि आकांक्षा देखाएका छन्।
नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति इन्दिरा थापा, जिल्ला सदस्य ज्ञानु गुरुङ,
राप्रपाबाट ज्ञानबहादुर गुरुङ र सिद्धार्थ थापाको नाम चर्चामा रहेको छ। सिद्धार्थ थापा सांसद एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुनीलबहादुर थापाका छोरा हुन्। महालक्ष्मी नगरपालिकामा नेकपा एमालेबाट जिल्ला कमिटी सचिव सुरेन्द्र पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य टंक चौहान, खगेन्द्र सुवेदी, वैकल्पिक जिल्ला कमिटी सदस्य पर्शुराम नेपाल, महिलातर्फ जिल्ला कमिटी सदस्य मधुमालती श्रेष्ठ र मञ्जु अधिकारीको नाम चर्चामा रहेको छ। नेपाली कांग्रेसबाट जिल्ला सभापति अग्नि पौडेल, लेखनाथ पौडेल, सुमना तिम्सिनाको नाम चर्चामा रहेको छ।

राप्रपाबाट गोपालचन्द्र पौडेलको नाम चर्चामा रहेको छ। यसै गरी चौबीसे गाउँपालिकामा नेकपा एमालेबाट सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नैन विश्वकर्मा, सचिवालय सदस्य मानबहादुर लिम्बु, जिल्ला कमिटी सदस्य सोविस चेम्जोङ, प्रदेश कमिटी सल्लाहकार सदस्य दिलीप सुब्बा, जिल्ला कमिटी वैकल्पिक सदस्य पदम देवान, गाउँ संगठन कमिटी चौबीसे गाउँपालिका सचिव खजिन्द्र राईले लविङ गरिरहेका छन्। महिलातर्फ सचिवालय सदस्य यज्ञकुमारी रुचाल, बिना राई र जिल्ला कमिटी सदस्य सीता राईको नाम चर्चामा रहेको छ। नेपाली कांग्रेसबाट हर्क चेम्जोङ, दुर्गा सुवेदी, जुना आचार्यको नाम चर्चामा आएको छ भने राप्रपाबाट चक्र बुढाथोकी र चन्द्र याखाको नाम चर्चामा रहेको छ।
यता साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेबाट जिल्ला कमिटी सचिवालय सदस्य हरिकुमार राई, जिल्ला सदस्य देवमान राई, कुमारजंग याखा, अनेम संघ जिल्ला नेता पशुपति याखा र तुलसा सुब्बाको नाम चर्चामा रहेको पार्टी प्रचार विभाग प्रमुख नैन विश्वकर्माले बताउनुभयो। नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई, खेमकुमारी राई र राप्रपाबाट धर्मध्वज राईको नाम चर्चामा रहेको छ।

खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा एमालेबाट प्रदेश कमिटी सल्लाहकार सदस्य रूपलाल राई, सचिवालय सदस्य बंगला राई, जिल्ला कमिटी सदस्य मनोज राई, जिल्ला कमिटी सदस्य योगेन्द्र राई, वैकल्पिक जिल्ला कमिटी सदस्य जेबी राई चर्चामा छन्। त्यसै गरी जिल्ला निर्वाचन कमिटी अध्यक्ष लोकेन्द्र खड्का, जिल्ला कमिटी सदस्य घुममाया राई ‘सीमा’ र सावित्रा राईको नाम चर्चामा रहेको छ। कांग्रेसबाट शिव राई, तीर्थ राई, लाखमान राई, कमलकुमारी राई, टीका भण्डारी, गीता प्रधान राईको नाम चर्चामा रहेको छ भने राप्रपाबाट रेवत भण्डारीको नाम चर्चामा रहेको छ। छथरजोरपाटी गाउँपालिकामा नेकपा एमालेबाट जिल्ला कमिटी सचिवालय सदस्य शिव आङ्ला, वैकल्पिक सदस्य शेरबहादुर लिम्बु र वैकल्पिक जिल्ला कमिटी सदस्य भीमकला श्रेष्ठ, नेपाली कांग्रेसबाट निर्मल ओझा, छत्र लिम्बु, विष्णु पौडेल, इन्दिरा थापाको नाम चर्चामा रहेको छ। त्यस्तै राप्रपाबाट माधवबहादुर भट्टराईको नाम रहेको छ।

यता नेकपा माओवादी केन्द्रले भने उम्मेदवारको चर्चाको बारेमा केही बताउन चाहेनन्। पार्टीले तीन नगरपालिका र चार गाउँपालिकामा सञ्चालन गरेको अभियान सम्पन्न भएपछि मात्र उम्मेदवारको नाम बताउन सकिने माओवादी केन्द्र धनकुटाका कार्यालय सचिव तिलकप्रसाद राईले बताए। उम्मेदवारको आकांक्षी धेरै देखिएपछि राजनीतिक दलहरु पार्टीभित्र आन्तरिक छलफल गरिरहेका छन्। वडा कमिटी, गाउँ कमिटी र नगर कमिटीको सिफारिस र सुझावका आधारमा चुनावको मापदण्डअनुसार वैशाख ९ गतेसम्ममा उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताए। त्यस्तै नेपाली कांग्रेस धनकुटाले वैशाख पहिलो हप्ताभित्रमा उम्मेदवारको टुंगो लगाउने जिल्ला सचिव विजयसन्तोषी राईले बताउनुभयो।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटामा १७ वटा दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारीअनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, मधेसी जनधिकार फोरम नेपाल (लोकतान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल रहेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय शिवसेना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा, जनजागरण पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माले–जनसमाजवादी) र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी रहेका छन्। धनकुटा जिल्लामा ९५ हजार ३ सय ६७ मतदाता छन्। दोस्रो संविधानसभाको निर्वाचनभन्दा यस पटक १२ हजार ७ सय ५१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाको ७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाताको संख्या धनकुटा नगरमा रहेको छ। धनकुटा नगरपालिकामा १८ हजार १ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए। त्यसै गरी महालक्ष्मी नगरपालिकामा १५ हजार ७ सय ८३ जना, चौबीसे गाउँपालिकामा १२ हजार ८५ जना, पाख्रिवास नगरपालिकामा १३ हजार ९ सय ३० जना, साँगुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ जना, छथर जोरपाटी गाउँपालिकामा १० हजार ७ सय ३६ जना र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा १० हजार ९ सय २८ जना मतदाता रहेका छन्। ६० वटा वडा रहेको धनकुटामा स्थानीय तह निर्वाचनका लागि १ सय १७ वटा मतदानस्थल र १ सय ४३ वटा केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्