पनौतीमा आकांक्षी धेरै उम्मेदवारको टुंगो लगाउन दलहरुलाई समस्या



मोतीराम तिमल्सिना, काभ्रे

उम्मेदवारी दर्ता गर्न केही दिन बाँकी हुँदा जिल्लाको ऐतिहासिक नगर पनौतीमा दलहरुभित्र उम्मेदवार बन्ने सूची थपिने क्रम जारी छ। पातलिँदै जानुपर्ने सूची दलहरुको विधि र प्रक्रियामा पर्न लामो बन्न थालेको छ। २०५३ मा नगर घोषित भएपछि २०५४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि मात्र नगरपालिकाले जनप्रतिनिधि पाएको थियो। सोही नगरपालिकामा आसपासका केही गाविस गाभिएपछि अहिले उम्मेदवारको सूची थपिएको हो। प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यो नगरमा शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र धेरै छ।

२०५४ सालमा नेकपा एमालेले प्रमुख र उपप्रमुखसहित अधिकांश पदहरुमा विजयी भएकाले पनि उक्त नगरपालिकामा एमालेको पकड रहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले त्यसलाई तोड्ने गरी कार्यगत एकता गर्दै सशक्त उम्मेदवार चयन गर्ने तयारीमा छन्। पार्टी निकट उम्मेदवारले जित्ने विश्लेषण हुन थालेपछि एमालेभित्र प्रमुख पदका लागि झण्डै दर्जनभन्दा धेरै आकांक्षी देखापरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवार बन्ने होडबाजी चलेको छ। यतिखेर तल्लो कमिटीहरुबाट सिफारिस शुरु भएकाले माथिल्लो कमिटीमा नामहरु धमाधम पठाउन शुरु भएको छ।

नेकपा एमालेले पनौती नगरपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि आठ जनाको नाम सिफारिस गरेको छ। भीम न्यौपाने, वसुन्धरा हुमागार्इं, डा. अम्भुभवानी कार्की, तुयुकाजी ताम्राकार, सहदेव थापा, रमेश पौड्याल, कुमार थापा, विशेश्वर बन्जारालाई मेयरका लागि सिफारिस गरिएको छ। त्यस्तै उपप्रमुखमा शान्ता न्यौपाने, राममाया श्रेष्ठ, गीता बन्जारा, तीर्थमाया प्रधानलाई सिफारिस गरिएको छ। वडा नम्बर १ मा गुणनाथ सापकोटा सर्वसम्मत अध्यक्षमा उम्मेदवार सिफारिस भएका छन्। वडा नम्बर २ मा पुरुषोतम अधिकारी, वडा नम्बर ३ मा किशोर थापा सर्वसम्मत भएका छन् भने वडा नम्बर ९ मा उद्धव थापा, वडा नम्बर १० मा दिवाकर प्रजापती, वडा नम्बर ११ मा मुकुन्द अर्याल र वडा नम्बर १२ मा ईश्वरराज जंगम अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार बनेका छन्।

वडा नम्बर ४ को अध्यक्ष पदमा ईश्वर बन्जारा, उपेन्द्र बन्जारा, दीपक थापा, नहकुल श्रेष्ठ, बुद्धसिं थापा, भक्तबहादुर श्रेष्ठ, मीनबहादुर बस्नेत सिफारिस भएका छन्। वडा नम्बर ५ मा श्रीधर कुइँकेल, तुल्सीनारायण श्रेष्ठ, वडा नम्बर ६ मा भीमप्रसाद आचार्य, सौगात बस्नेत, शालिकराम दुलाल, गणेश सापकोटा, गगनध्वज बस्नेत, वडा नम्बर ७ मा जंगबहादुर जंगम, बद्रिदास श्रेष्ठ, लक्ष्मीनारायण ताम्राकार, सिजन शुद्धाकार, सत्यनारायण कर्माचार्य, सविन ताम्राकार र वडा नम्बर ८ मा वेदप्रसाद बन्जारा, सन्तुन केसी वडा अध्यक्ष पदका लागि उम्मेदवार सिफारिस भएका छन्।
त्यस्तै नेपाली कांग्रेसले विदुर बन्जारा, प्रकाश थापा, भोला थापा, रामशरण भण्डारीलगायतको नाम सिफारिस गरेको छ। माओवादीले पनि जगन्नाथ गिरी, पूर्णकुमार श्रेष्ठको नाम सिफारिस गरेको छ। साविक पनौती नगरपालिकामा कुशादेवी, र्याले, भूमिडाँडा, बल्थली, शारदा बतासे र शंखुका केही भागहरु गाभिएका छन्। गाभिएका गाविसहरु सबैमा नेकपा एमालेले पकड राखेका गाविसहरु हुन्। सोही कारण पनि हार्ने वा जित्ने गरी कसले टिकट ल्याउने भन्ने विषयमा अन्य दलमा बहस जारी छ। स्थानीय तहमा पनौती तेस्रो तहमा राखिएको छ। पनौती नगरपालिका साविक पनौती, कुशादेवी, र्याले बिहावर, कलाँती भूमिडाँडा, बल्थली, शारदा बतासे (३, ४ र ९) र शंखुपाटीचौर ४ नम्बर समावेश गरिएको छ। ४६ हजार ५ सय ९६ जनसंख्या रहेको पनौतीमा १२ वडा कायम गरिएको छ। १ सय १८ वर्ग किमि क्षेत्रफल रहेको पनौती नगरपालिका हिसावले तेस्रो हो। पनौती नगरपालिकाको केन्द्र साविक पनौती नगरपालिकाको कार्यालयलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्