गोल्डेन आइडललाई बेंसीशहरमा स्वागत



लमजुङ । नेपाल गोल्डन आइडलको पोखरामा सम्पन्न प्रतियोगिताको प्रथम विजेता लमजुङकी धुपा दुराको जिल्ला सदरमुकाम बेंसीशहरमा भव्य स्वागत गरिएको छ। मुलुकभरका ३ हजार ३ सय १९ जनालाई उछिन्दै उनले सो उपाधि जितेकी हुन्।

लमजुङको बेंसीशहरस्थित नवज्योति संस्कृति कला केन्द्रमा धुपाले नृत्य प्रशिक्षण लिएकी हुन्। त्यसैले सोही केन्द्रको संयोजनमा लमजुङकी चेलीले नेपाल गोल्डन आइडल उपाधि हासिल गरेको उपलक्ष्यमा धुपाको स्वागत कार्यक्रमको आयोजना गरेको उक्त केन्द्रका सञ्चालक एवं नृत्य निर्देशक ध्वज गुरुङले बताए। उनका अनुसार जीवनमा आउने खुसीका दिनमध्ये यो एक दुर्लभ दिन हो। बेंसीशहरको मजुवा खोलाको पुलदेखि दनाई फाँट, सेरा बजार, झिँगेखोला, नारायण मन्दिर हुँदै बेंसीशहर बजार परिक्रम गरेर स्वागत र्यालीले नवज्योति संस्कृति कला केन्द्रमा पुगी धुपाले उपाधि जितेर जिल्लाको इज्जत बढाउने कार्य गरेको भन्दै बधाई दिएको थियो।
धुपाले उपाधिसँगै पुरस्कारस्वरूप १ लाख ९५ हजार रुपियाँ मूल्यको स्कुटी प्राप्त गरेकी छिन्। सो प्रतियोगिता गोल्डन स्टार मल्टिमिडिया प्रालिले पोखरामा आयोजना गरेको हो। प्रतियोगितामा नृत्यतर्फ धुपा दुरा लमजुङ पहिलो, रञ्जिता तिमिल्सेना नवलपरासी दोस्रो र सहिता केसी दाङले तेस्रो स्थान हासिल गरेका हुन्। अन्तिम चरणको उक्त प्रतियोगितामा सात जनाबीच प्रतिस्पर्धा गराइएको थियो।

धुपाकी आमा अमृता दुरा साधारण गृहिणी हुन् भने उनका बुबा बोगबहादुर दुरा पछिल्लो एक वर्षदेखि साउदीमा वैदेशिक रोजगारीमा छन्।

उक्त अवसरमा आयोजना गरिएको गायनतर्फको प्रतियोगितामा रमेश घोताने चितवन पहिलो, चरित्र भट्टराई विराटनगर दोस्रो र प्रवेश राजवंशीले तेस्रो स्थान हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्