युद्धकै झल्को दिए राता मान्छेले



धनवीर दाहाल, रुकुम
बिहानको ठीक ११ बजेर १७ मिनेट गएको थियो। मुसिकोट नगरपालिकाको खलंगा बजारमा किराना पसल गर्दै आएकी राममाया सुनारको पसल अगाडि नारा लगाउँदै युद्धकै झल्को दिने गरी राता मान्छेहरू आए।

उनी झसङ्ग भइन् फेरि पनि यस्ता कपडा लगाएका मान्छेहरू कसरी आए? तत्कालीन सशस्त्र युद्धको समयमा उनी रुकुमको खारामा भएको घटनामा पटकपटक पीडा खेपेकी थिइन्। तत्कालीन सशस्त्र संघर्ष गरिरहेको माओवादीले गरेझैं सरकार विरोधी कडा नारा लगाउँदै विप्लव नेतृत्वको नेकपाले रुकुममा मार्चपास गरेको छ। राममाया मात्र होइन रुकुम मुसिकोट बजारमा बुधबार राता मान्छेहरूको मार्चपासले एकपटक पुरानो झल्को रुकुमेलीलाई दिएको छ।

एकीकृत जनजागरण प्रतिरोध अभियानको उद्घाटन कार्यक्रम नाम दिइएको एक कार्यक्रममा नेकपाका जिल्ला स्तरका नेताले रुकुमको मनमा त्रास पैदा गरिदिएका छन्। उनीहरूले कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने र यो सरकार पञ्चायतकालीनभन्दा पनि प्रतिगामी भएको दाबी गरे। अहिले गाउँमा संसद्वादी दलहरूले वडाको केन्द्र त्यो ठाउँमा सारिदिन्छु अर्थात् गाउँपालिकाको केन्द्र त्यो ठाउँमा सारिदिन्छु भन्दै भोट माग्ने गरेको र स्थानीय तहको निर्वाचनको नाममा जनतालाई भ्रम छरिरहेको आरोप लगाए। अधिकांश समय सरकार र माओवादी केन्द्रको विरोधमा खर्चेका उनीहरूले कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा गरे।

दलाल संसदीय व्यवस्थाको चुनाव खारेज गरौं, जनसत्तालाई सुदृढ र विस्तार गर्दै अघि बढौं भन्ने नारासहित नाराजुलुस गरेर बजार परिक्रममा पनि गरिएको थियो। सभा कार्यक्रममा जिल्लास्थित नेतृत्वहरूले चुनाव विरोधी भाषण गर्नुका साथै बीचबीचमा जनसांस्कृतिक प्रस्तुति पनि राखिएको थियो।

सभामा बोल्दै पार्टीका जिल्ला इन्चार्ज शेरकुमार खड्काले चुनाव खारेजी तथा एकीकृत जनजागरण अभियानको शुरुआत भएको बताउँदै अभियान ३ महिनासम्म गाउँगाउँमा सञ्चालन हुने बताए। जनसत्ताबाट मात्र देश र जनताको हित हुने उल्लेख गर्दै चुनाव खारेजी अभियानमा सहकार्य हुने सचेत जनताको संख्या दिनप्रतिदिन बढिरहेको समेत उल्लेख गरे। कार्यक्रममा जिल्ला सेक्रेटरी चन्द्र बुढाले पार्टीको धारणाबारे प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्