भित्तामा पनि रहेनन् लोकमान



सुरेश तामाङ, काठमाडौं
एक ताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था रहेको थियो। हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम जिन्दगी बिताइरहेका छन्। कहाँ छन्, अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि गरिएको छैन। उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्स्टिच्युसनल मेमोरी (संस्थागत स्मरण)मा समेत उनलाई नराखेको पाइएको छ। अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरू सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन। किन नराखिएको भन्ने जिज्ञाशामा अख्तियारका एक वरिष्ठ कर्मचारीले बुधबार नेपाल समाचारपत्रसँग भने– ‘अदालतले नै अयोग्य भनिएका व्यक्तिको हामीले फोटो राख्ने कुरै हुँदैन।’

अख्तियारको केन्द्रीय कार्यालय भवन प्रवेश गरेसँगै सिँढी चढेर पहिलो तलामा पुगेपछि त्यहाँ स्वागत कक्ष छ। सीसीटीभी क्यामेराको प्रत्यक्ष निगरानीमा रहेको स्वागत कक्षमै एक्सरे मेसिन पनि राखिएको छ। स्वागत कक्षको भित्तामा अख्तियारका ५ जना पूर्वप्रमुख आयुक्तहरूको तस्बीर लहरै राखिएको छ।

भित्तामा राखिएको तस्बीरको लहरमा लोकमानसिंह कार्कीको तस्बीर भने राखिएको छैन। लोकमान अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएपछिका ५ जना पूर्वप्रमुख आयुक्तपछिका पछिल्ला प्रमुख आयुक्त हुन्। तर, उनलाई अदालतले अयोग्य ठहर्यायो।

तस्बीरमा अख्तियारका पूर्वप्रमुख आयुक्तहरू जनार्दनलाल मल्लिक, राधारमण उपाध्याय, रामप्रसाद श्रेष्ठ, मधुसूदनप्रसाद गोर्खाली र सूर्यनाथ उपाध्यायलाई मात्रै देख्न सकिन्छ।

अख्तियारका ती कर्मचारीले भने– ‘अदालतले नै अयोग्य भनेको मान्छेको तस्बीर झुण्डाएरै राख्न त भएन नि⁄

तस्बीरको लहरमा यसभन्दा अघिका आयोग (अख्तियार दुरुपयोग निवारण आयोग)का पूर्वप्रमुख आयुक्तद्वय अनिरुद्रप्रसाद सिंह र वासुदेव शर्माको पनि तस्बीर राखिएको छैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना २०४७ माघ २८ मा भएको थियो भने त्यसभन्दा अघिको अख्तियारको नाम अख्तियार दुरुपयोग निवारण आयोग थियो।

अख्तियार प्रमुख भएको ३ वर्ष ८ महिनापछि सर्वाेच्च अदालतले लोकमानलाई उच्च नैतिक चरित्र नभएका, अख्तियारमा प्रमुख आयुक्त नियुक्तिका लागि अयोग्य भएको भन्दै २०७३ पुस २४ गते फैसला गरेको थियो।

लोकमानले २०७० वैशाख २५ मा प्रमुख आयुक्तको शपथ लिएका थिए। लोकमान उपर सर्वाेच्चमा रिट पर्नुअगाबै नेकपा माओवादी केन्द्र, एमालेलगायतका दलहरूले संसद्मा लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए। सर्वोच्चले उनलाई गएको पुस २४ गते अयोग्य भएको घोषणा गरेपछि उनी केही दिनमै परिवारसहित देश छोडेर हिँडेका थिए। उनी भारत हुँदै क्यानडा गएको बताइए पनि कहाँ छन् भन्ने कुरा खुलेको छैन। उनी अख्तियारको संस्थागत स्मरणमा समेत नरहे पनि उनको पालामा अख्तियारले गरेका निर्णयबाट भने थुप्रै मान्छे अझै पनि विभिन्न हिसाबले प्रभावित भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्