‘भात खान्न भनेर आमालाई घुक्र्याएजस्तो होइन’



काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति दायाँबायाँ गर्न नहुने बताउनुभएको छ। आफ्ना राजनीतिक मान्यताको परीक्षण गर्ने विधि चुनाव भएकाले कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने बताउनुभएको हो।

थाइल्यान्डबाट स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफू स्वास्थ्य परीक्षणमा गएपछिको मुलुकको उल्लेखनीय राजनीतिक घटना कांग्रेसको नृत्य भएको भन्दै व्यंग्य गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो,‘यसबीचमा कांग्रेसको नृत्य उल्लेखनीय राजनीतिक घटना हो, मैले नृत्य हेरे राम्रै लाग्यो।’

आफ्नो पार्टी चुनाव तोकिएकै मितिमा हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै उहाँले इफ, बट लगाएर चुनावको मिति सार्ने कुरा नहुनेमा जोड दिनुभयो। मधेसी मोर्चाप्रति व्यग्य गर्दे उहाँले लोकतान्त्रिक प्रणालीमा चुनावमा भाग लिन्न भन्नु भात खान्न भनेर आमालाई घुक्र्याएजस्तो हुने बताउँदै भन्नुभयो,‘चुनावमार्फत नै आफूले उठाएका कुरा ठीक हुन् कि बेठीक हुन् परीक्षण हुन्छ चुनाव आमालाई घुक्र्याएजस्तो होइन।’

अध्यक्ष ओलीले पहिलो चरणमा स्थानीय तह र दोस्रो चरणमा प्रदेशको चुनाव हुन बताउँदै चुनावमा लाग्ने बेला संविधान संशोधनको लफडामा लाग्न नहुने बताउनुभयो। छवटा मधेसवादी दलहरूबीच भएको एकताप्रति प्रतिक्रिया दिँदै उहाँले फुट्नेभन्दा जुट्ने काम निकै राम्रो भएको बताउनुभयो।

उहाँले निर्वाचन घोषणा पत्रको काम अन्तिममा पुगेको र केही दिनभित्रै सार्वजनिक गर्नुको साथै एक⁄दुई दिनमा उम्मेदवार पनि घोषणा हुने बताउनुभयो। उहाँले आफू नियमित स्वास्थ्य परीक्षणमा गएको र त्यहाँ रहेका बेला हर्नियाको पनि अपरेसन गर्नुपर्ने कुरा चिकित्सकले भनेकाले सफल उपचार भएको पनि जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्