सगरमाथा नाप्न हानाथाप



प्रशान्त वली, काठमाडौं
सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरूपमा गर्ने भने पनि सरकारले आगामी साउनपछि आफै नाप्ने गरी तयारी थालेको पाइएको छ।
त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपियाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ। साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरूपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष बद्र्धनले भारतीय सञ्चारमाध्यमलाई बताउनुभएको थियो।

सर्भे अफ इन्डियाको २५० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग मन्त्री वद्र्धनले आवश्यक प्रकृया पूरा भए अबको दुई महिनासम्ममा चुचुरोको सर्भे सम्पन्न गर्ने र संयुक्त टोलीले ग्लोवल पोजिसनिङ सिस्टम (जीपीएस) र त्रिकोण मितिय बिधि गरी दुई बिधिबाट उचाइ नाप्ने तयारी भइसकेको बताउनुभयो।

विभागका महानिर्देशक भट्टले भन्नुभयो– ‘संयुक्त रूपमा नाप्ने प्रस्ताव हामीलाई मान्य हुने छैन। तर, अहिलेसम्म भारतबाट कुनै पनि प्रस्ताव आएको छैन। अब साउनबाट नाप्ने काम शुरू गर्ने गरी तयारी थाल्छौं।’

यद्यपि भारतले आफ्नो तबरबाट आन्तरिक रूपमा नाप्न सक्ने नापी विभागले बताएको छ। सरकारलाई सगरमाथाको उचाइ वैज्ञानिकताको सम्बन्धमा कार्यक्रमकै रूपमा पार्न आफूले प्रस्ताव पेश गरिसकेको विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

भारतीय सर्वेक्षण विभागले दुई वर्षअघि गएको भूकम्पका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको उँचाइ बढेको छ वा घटेको छ भन्नेबारे निधो गर्न छिट्टै ३० सदस्यीय टोली पठाइने बताएको थियो। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा बजेट माग गरिए आगामी आर्थिक वर्षमा सरकारले केही रकम छुट्याउन सक्ने भएकाले पनि सगरमाथाको उचाइ मापनका सन्दर्भमा छलफललाई तीव्र पारिएको विभागले बताएको छ।

सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेहरूका लागि विशेषज्ञ तालिम, कर्मचारीहरूमा खर्च हुने बताइएको छ।
उचाई मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमन्टसमेत विभागमा छ।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिक रूपमा मान्दै आएको उचाइ भने यही भारतीय टोलीको रहेको नापि विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्