छत्तीस हजार मेट्रिक टन गहुँ उत्पादन



लहान, ७ वैशाख । सिरहामा तीन वर्षयता गहुँ उत्पादनमा वृद्धि भएको छ ।

गहुँखेतीको समयमा पटक पटक वर्षा भएको, मागअनुसारको बीउबिजन समयमै उपलब्ध भएको तथा रोग किराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष १८ हजार एक सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीबाट प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ३६ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रवक्ता हरिशचन्द्र पण्डितले जानकारी दिनुभयो ।

गत वर्ष १५ हजार ७५० हेक्टरमा गहुँबाली लगाएकामा प्रतिहेक्टर १ दशमलव ७ मेट्रिक टनका दरले २६ हजार ५३७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । अघिल्लो वर्ष १८ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदा प्रतिहेक्टर १ दशमलव ८ मेट्रिक टनका दरले ३३ हजार ३०० मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्