बीके राधे, घामपानी र लभ लभ लभ



– विदुर गिरी
वर्ष २०७४ नेपाली फिल्म क्षेत्रका लागि व्यावसायिक दृष्टिकोणले सफल वर्ष हुने संकेत देखिएको छ। वर्षारम्भमै एकसाथ रिलिजमा आएका ३ नयाँ नेपाली फिल्मले गरेको व्यापारलाई हेर्दा यो वर्ष नेपाली फिल्म क्षेत्रका लागि भाग्यशाली वर्ष हुने संकेत देखिएको हो।

वर्षारम्भमै एकसाथ देशैभर राधे, घामपानी र लभ लभ लभ रिलिजमा आए। रिलिजमा आएका तीनै फिल्मलाई दर्शकले मन पनि पराएका छन्। रिलिमा आएकामध्ये व्यावसायिक हिसाबले सबैभन्दा माथि राधेलाई पाइएको छ।
डेब्यु निर्देशक जगदिश्वर थापाद्वारा निर्देशित राधेले रिलिजको शुरुमै २ करोडको ग्रस कलेक्सन गरेर देखाइदियो भने अर्का डेब्यु निर्देशक तथा पत्रकार दीपेन्द्र लामाद्वारा निर्देशित घामपानीले मल्टिप्लेक्सबाट राम्रो व्यावसायिक परिणाम देखाएको छ। पशुपतिप्रसाद जस्तो अर्थपूर्ण फिल्म बनाएर देखाइदिएका दीपेन्द्र के खनालको लभ लभ लभलाई मन पराउने पनि उत्तिकै देखिएका छन्। तीनै फिल्मको व्यापारलाई हेर्दा जगदिश्वर र दीपेन्द्रले निर्देशनको क्षेत्रमा राम्रो सम्भावना प्रस्तुत गरेका छन् भने दीपेन्द्र के खनाल आफूलाई लामो रेसको घोडा सावित गर्न सक्षम हुने देखिएको छ। अझ घामपानीले बढ्दो लोकप्रियतासँगै मल्टिप्लेक्स हलहरुमा थप शोहरु पनि पाइरहेका छन्।
राधेको व्यापारिक सफलताले नायक निखिल उप्रेतीको क्रेज फेरि फर्काएको अनुभूति गराएको छ। सुशील पोखरेलद्वारा निर्मित यो फिल्मबाट एक्सनका चम्केका उप्रेती अन्य खालका भूमिकामा पनि जम्छन् भन्ने पुष्टि गरिदिएको छ। लामो समय रजतपटबाट टाढा भई केहीअघिबाट फेरि सक्रिय भएका एक्सन नायक निखिल उप्रेती अभिनित केही फिल्म असफल सावित भएपछि उनको क्रेजका बारेमा प्रश्न उठाउन थालिएको थियो। राधेले ती प्रश्नको जवाफ दिएको छ।


फिल्ममा निखिलका साथमा प्रियंका कार्की, प्रमोद अग्रहरि, शिशिर भण्डारी, अशिष्मा नकर्मीलगायत प्रमूख भूमिकामा छन्। निर्माता सुशील पोखरेलको कथामा निर्माण भएको फिल्ममा बेपत्ता पारिएको पात्रको कथालाई प्रस्तुत गरिएको छ। जसमा निखिलले आफूलाई अब्बल सावित गरेका छन्।
उता एउटा फिल्म नागबेलीको लेखनबाट आफूलाई स्थापित गर्न नसके पनि घामपानीको निर्देशनबाट पत्रकार दीपेन्द्र लामाले पहिलो पाइलामै आफूलाई सक्षम निर्देशकका रूपमा अगाडि सारेका छन्।
उनको पहिलो निर्देशनमा बनेको घामपानीले राम्रो दर्शक प्रतिक्रिया पाएको छ।


दीपेन्द्रले दयाहाङ राई र केकी अधिकारीलाई तामाङ र बाहुनबीचको मायाप्रीति तथा अन्तरजातीय विवाहलाई कथा बुनी फिल्म पस्केका छन्। जात, धर्म वा वर्गका आधारमा समाज विकेन्द्रित भइरहेका बेला लामाले घामपानीबाट सन्देशसमेत दिने प्रयास गरेका छन्। फिल्ममा दयाहाङ र केकीका साथमा प्रकाश तामाङ, बुद्धि तामाङ, अरुणा कार्कीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।
अर्कातिर चपली हाइट र पशुपतिप्रसाद जस्ता फरक–फरक स्वादका फिल्म दिएका निर्देशक दीपेन्द्र के खनालले यस पटक अझै भिन्न खालको फिल्मका रूपमा लभ लभ लभ पस्किएका छन्। मित्रता र प्रेम सम्बन्धलाई अथ्याउँदै उनले बनाएको लभ लभ लभलाई पनि दर्शकले माया गरेका छन्।

सरल शैलीमा प्रस्तुत गरिएको फिल्ममा लेखक तथा निर्देशक खनालले आदर्श प्रेमकथालाई भावुक ढंगले प्रस्तुत गरेका छन्। फिल्ममा सुरज पाण्डे, स्वस्तिमा खड्का, रमेश बुढाथोकी, आर्यन खड्का, ए गुरुङ, देशभक्त खनाललगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्