अमेरिकामा अर्को जन्म



 

एक दशकदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी समाजसेवी, अधिकारकर्मी तथा गीतकार इन्दिरा चेमजोङको गीति अडियो एल्बम अर्को जन्म न्युर्योकमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा भएको विमोचन समारोहमा अमेरिकाका लागि नेपाली महावाणिज्य दूत तथा गीतकार क्रिसु क्षत्री, नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष तथा गायक सुमन बुढामगर, आदिवासी जनजाति महासंघका अध्यक्ष लुइसंग वाइवा, अधिकारकर्मी नरवदा क्षत्री, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डम्मर चेमजोङ, अन्तर्राष्ट्रिय साहित्य समाजका भूतपूर्व अध्यक्ष तथा सल्लाहाकार गीता खत्री अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठ, किरात याकथुङ चुमलुङ अमेरिकाका अध्यक्ष देवेन्द्र लिम्बु र गीतकार चेमजोङले संयुक्तरूपमा एल्बम विमोचन गरेका थिए।

गीत, संगीतमा सानैदेखि इच्छा भए पनि कार्य व्यस्तताका कारण अहिले मात्र इच्छा पूरा भएको गीतकार चेमजोङले बताइन्।

प्रवासी जीवन बिताउँदै आएकी गीतकार चेमजोङले एल्बमका लागि देश, माटो, गाउँघर, प्रेम, पर्खाइ र आशा निराशालाई गीति शब्दमा उतारेर गीतकारको रूपमा आफूलाई उपस्थित गरेकी छिन्। एल्बममा ६ गीत संगृहित छन्। सबै गीतको म्युजिक भिडियोसमेत बनाइएको छ। चेमजोङले ५ नेपाली र एउटा लिम्बु भाषाको गीत एल्बममा राखेकी छिन्।

यी गीतहरु दीपक लिम्बु, प्रमोद खरेल, मिलन अमात्य, अन्जु पन्त, मेलिन राई र सीता सिंकले गाएका छन् भने वसन्त सापकोटा, ताराप्रकाश लिम्बु र बाबुल गिरीले संगीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्