एकीकरण प्रयासमा मधेसी मोर्चा



बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्रका पार्टीहरूको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्धभूमिगतरूपमा ३ दिनदेखि मोर्चाका अध्यक्षहरूबीच एकीकरणका लागि छलफल जारी रहेको छ।

बुधबार अबेर रातिसम्म पनि मोर्चाका नेताहरूबीच राजधानीकै एक गोप्य स्थानमा छलफल भइरहेको थियो। पार्टी एकीकरणका अन्य विषयवस्तुमा सहमति भइसके पनि अध्यक्ष मण्डली बनाउने कि महाधिवेशनसम्मका लागि १ जनालाई अध्यक्ष मानेर अगाडि बढ्ने विषयमा टुंगो बुधबार राति नै लगाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

तर मधेसी मोर्चाभित्रका पार्टीहरूको एकीकरणका विषयमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरूलाई कुनै जानकारी नरहेको बताउनुभएको छ।

मधेसी मोर्चाका घटकहरू महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरणका विषयमा अन्तिम छलफल हुँदै छ।

उपेन्द्र यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरणका विषयमा निर्णय लिन राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकले निर्णय गरेपछि यसै साता यादव र भट्टराईबीच एकीकरण हुनेछ।

यादवले मधेसी मोर्चालाई छोडेर जान लागेपछि मोर्चाभित्रका अन्य दलहरू एकीकरणमा जुटेका हुन्। यादवले भट्टराईसँग एकीकरण घोषणा गर्नुअघि मोर्चाभित्रका ६ दलबीच एकीकरण घोषणा भएको खण्डमा यादवका पार्टीबाट असन्तुष्ट मधेसी नेताहरू पनि मोर्चामा आउने सम्भावना रहेको छ।
मोर्चा स्रोतका अनुसार बुधबार राति एकीकरणको टुंगो लागेपछि बिहीबार नै एकता घोषणा हुनेछ। बुधबार दिउँसो तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा तमलोपा, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्