बदला लिँदै विराटनगर किंग्स फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं

रुपन्देही च्यालेन्जर्ससँग बदला लिएर विराटनगर किंग्स धनगढीमा जारी सगरमाथा सिमेन्ट डीपीएल क्रिकेटको फाइनल पुगेको छ। बुधबार भएको क्वालिफायरको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्स फाइनलमा पुगेको हो। विराटनगरले लिगमा बेहोरको पराजयको बदलासमेत पूरा ग¥यो। फाइनल पुग्ने अर्को टोली टुंगो भोलि मात्र लाग्नेछ।

फाइनल पुग्नका लागि रुपन्देहीसँग अर्को एउटा मौका रहेको छ। त्यस्तै एलिमिनेटर खेलमा धनगढी टिम चौराहले काठमाडौं गोल्डेन्सलाई चार विकेटले हराएको छ। आज फाइनल पुग्न पारस खड्काको चौराह र शक्ति गौचनको रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछन्।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा १ सय २९ रनको लक्ष्य पाएकोे रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र बनायो। टोलीका लागि विक्रम सोब २३ र पुष्प थापाले २२ रन जोडेका थिए। अन्य भने दोहोरो अंकमा पुग्न सकेनन्। रुपन्देहीलाई तीन अंकको स्कोरमा पुग्न नदिन विराटनगरका बलर सुशील कँडेल घातक बने। म्यान अफ द म्याच घोषित सुशीलले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, प्रकाश विष्ट, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया र पवन सर्राफले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो। टोलीका लागि सबैभन्दा बढी आसिफ शेखले ३६ र कप्तान शरदले २४ रनको योगदान दिए। आसिफले ४१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दा शरदले २२ बलमा २ छक्का प्रहार गरेका थिए।

पारसको टिमलाई मौका

धनगढी टिम चौरहा वसन्त रेग्मीको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको छ। यो सँगैं लिगमा पहिलो तीन खेल हारेको पारसको टिमको लागि फाइनल पुग्ने मौका प्राप्त भयो। चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ।१ सय २४ रनको लक्ष्य पछ्याएको चौराहाले ४ विकेट गुमाएर १० बल बाँकी राखी १ सय २७ रन बनाएर जित हासिल गरेको थियो। १८औं ओभरमा सोमपाल कामीको बलमा आरीफ शेखले २ छक्का र १ चौका प्रहार गरेपछि नै टिम चौराहको जित पक्का भएको थियो।
त्यसअघि दोस्रो विकेटका लागि ओपनर अनिल मण्डल र पृथु बास्कोटाले ६४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।

म्यान अफ दी म्याच अनिलले ४४ रन बनाए भने पृथुले २२ रन जोडेका थिए। आरीफ २२ रनमा नटआउट रहे। काठमाडौंका सन्तोष भट्टले २ र मञ्जित श्रेष्ठले १ विकेट लिए। पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो। मध्यक्रममा युवा खेलाडीद्वय रोहितकुमार पौडेल र सुमित महर्जनले ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोहो¥याएका थिए।

प्रतिक्रिया दिनुहोस्