प्रमुख पाँच दल छलफलमा



काठमाडौँ, ६ वैशाख । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँच दलको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा शान्तिपूर्ण एवम् निष्पक्षरुपमा निर्वाचन सफल बनाउने र निर्वाचनप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । करिब २० वर्षपछि मुलुकमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हँुदैछ ।

निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्काेतिर मुलुकभर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नपाउने भएपछि व्यवस्थापिका–संसद्बाहिरका साना दलले अनशन सुरु गरेका छन् ।

त्यस्तै, संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मोर्चा निर्वाचनमा सहभागी हुने गरी सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आजको बैठकमा यिनै विषयमा गम्भीररुपमा छलफल हुुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्