कांग्रेसलाई आकांक्षीको व्यवस्थापन गर्न गाह्रो



विमल विष्ट, डोटी

नेपाली कांग्रेस डोटीलाई आसन्न निर्वाचन तहको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ भएको छ। जिल्लामा क्रियाशील अन्य दलको तुलनामा कांग्रेसमा उम्मेदवारका आकांक्षी बढी भएकाले व्यवस्थापनमा समस्या भएको हो। कांग्रेसभित्र विभिन्न गुट–उपगुटले पनि प्रभाव पारेको स्रोतले बतायो।

दीपायल सिलगढी नगरपालिकाको मेयरका लागि कांग्रेसबाट १४ आकांक्षी रहेका छन्। पछिल्लो समय कांग्रेसका सांसद भरतबहादुर खड्का, केन्ıीय सदस्य तथा सांसद वीरबहादुर बलायर र जिल्ला सभापति प्रदीप देउवा सम्भावित उम्मेदवार छनौटमा जुटेका छन्।

कांग्रेसले पार्टी कार्यालयमा उम्मेदवारलाई बोलाएर अन्तरक्रिया पनि गरिएको छ। अन्तरक्रिया कार्यक्रममा दीपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा उम्मेदवारका आकांक्षीले कार्यसमितिसँग धारणा र माग दाबी राखेका थिए।

मेयर र उपमेयरका आकांक्षीका धारणा बुझेको केही दिनभित्रै जनप्रिय, लोकप्रिय र कार्यकर्ता रिझाउन सक्नेको नाम टुंगो लगाइने कांग्रेस डोटीका सभापति प्रदीप देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘जनप्रिय, लोकप्रिय र कार्यकर्ता रिझाउन सक्नेको नाम टुंगो लगाउने तयारीमा छौं केही दिनभित्रमा सबैको टुंगो लाग्छ।’

प्रतिक्रिया दिनुहोस्