‘विजनेस टाइकुन’ विजय माल्या पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
किं‘ग अफ गुड टाइम्स’ भनेर चिनिने चर्चित भारतीय व्यापारी ‘विजनेस टाइकुन’ विजय माल्या लण्डनमा पक्राउ परेका छन्। विभिन्न १७ वटा बैकबाट ९ खर्ब ४० अर्बभन्दा बढी भारतीय रुपियाँ ऋण अपचलन गरी फरार रहेका माल्या बेलायतको स्कटल्यान्ड यार्डफल्टबाट पक्राउ परेका छन्।

माल्यालाई बुधबार वेस्टमिन्स्टर म्याजिस्ट्रेज कोर्टमा ल्याइने समाचार एजेन्सीहरूले जनाएका छन्।

इन्फोर्समेन्ट डायरेक्ट्रेड र सीबीआईले ऋण अपचलन मुद्दामा भगौडा अपराधी घोषणा गरेका माल्यालाई मंगलबार बिहान स्कटल्यान्ड यार्ड पुलिसले पक्राउ गरेको हो। गत वर्ष मार्च २ तारिखमा भारतबाट भागेर लण्डन पुगेपछि भारतको आग्रहमा बेलायतले पक्राउ गरेको भारतीय केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पुष्टि गरेको छ। लण्डनमा पक्राउ परेको खबर आएलगत्तै भारतले सुपुर्दगी गर्न माग गरेको छ।

भारतले माल्याको पासपोर्ट रद्द गरेको भए पनि सन् २०१६ मार्च २ मा बेलायत भाग्न सफल भएका थिए। सोही वर्ष अप्रिल १८ मा माल्याविरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको थियो। अप्रिल २९ तारिखमा भारतले बेलायतलाई माल्यालाई पक्राउ गरेर भारत फिर्ता गरिदिन अनुरोध गरेपछि बेलायतले माल्यालाई पक्राउ गरेको हो।

माल्यालाई सन् २०१२ अक्टोबर १२ मा भारतीय कम्पनी जीएमआर लाई बाउन्स चेक दिएकोमा पहिलोपटक पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि भारत मै अर्धभूमिगत रहेर माल्याले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका थिए।

को हुन विजय माल्या ?
विजय माल्या चर्चित भारतीय व्यापारी बिद्दल माल्याका छोरा हुन्। सन् १९५५ मा कलकत्तामा जन्मिएका माल्याले व्यवस्थापनमा सेन्ट जेभियर्स कलेजबाट स्नातक गरेका छन्। बुबाको मृत्यपछि विजय युनाइटेड ब्रेवरिज (युवी) कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी नियुक्त भए।
२७ वर्षको उमेरमै माल्याले भारतका राम्रा विजनेस स्कुलबाट प्रतिभावान युवालाई आफ्ना कम्पनीका लागि छाने र ती युवालाई सञ्चारका विभिन्न माध्यममार्फत् नयँँ तरिकाले विज्ञापनका लागि खटाएका थिए। जसले गर्दा उनको कम्पनीले छोटो समयमै ठूलो सफलता हात पार्यो।
मदिराजन्य वस्तु उत्पादन गर्ने युवी ग्रुपको उत्पादन किंगसफिसर वियरले तत्कालीन अवस्थामा भारतीय बजारमा ५० प्रतिशत हिस्सा ओगटेको थियो भने विश्वका ६५ मुलुकमा निर्यात हुन्थ्यो। मदिरा उत्पादक कम्पनी युनाइटेड स्प्रिट लिमिटेड, युबी समूह र किंसफिसर एअरलाइन्सका अध्यक्ष विजय माल्याले बैंग्लौरमा माल्या अस्पताल र माल्या अदिति इन्टरनेसनल स्कुल पनि खोलेका छन्।
सन् २००५ मा स्थापना भएको किंगफिसर एयरलाइन्सलाई सन् २००९ सम्म आईपुग्दा ५ सय करोड भारतीय रुपियाँभन्दा बढी घाटा लाग्यो र २०१४ सम्म आइपुग्दा कम्पनी बन्द हुने अवस्थामा पुग्यो।
सन् २००४ मा टिपु सुल्तानको तरवारमा सबैभन्दा बढी लिलाम बोली लगाएर बेलायतबाट भारत फर्काएपछि उनी झन् चर्चित बनेका थिए। सन् २००९ मार्चमा अमेरिकी नागरिक जेम्स ओटिसले महात्मा गांधीका विभिन्न सामग्रीको लिलामी गर्दा पनि माल्याले ११ करोड भारतीय मूल्यमा खरिद गरेका थिए।
द साउर्दन क्यालिफोर्निया युनिभर्सिटी फर प्रोफेसनल स्टडिजले माल्यालाई विजनेस एडमिनिस्ट्रेसन विषयमा मानार्थ विद्यावारिधिको उपाधि दिएको छ। त्यस्तै सन् २०१० मा ‘इन्टरपेनरर्स अफ दि इयर’ अवार्ड पाएका थिए।
जनता पार्टीका अध्यक्ष सुब्रमन्यम स्वामीलाई हटाई माल्या आफंै पाटीको अध्यक्ष बने र नाम पनि जनता दल राखे। कर्नाटक राज्यमा चुनाव लडेको माल्याको जनता दलले उल्लेख्य नतिजा नल्याए पनि माल्याले सन् २००२ मा निर्दलीय उम्मेदवारका रूपमा कर्नाटक विधानसभा सदश्यका रूपमा निर्वाचित भएका थिए। माल्याको खेलकुदका क्षेत्रमा पनि निकै चासो रहेको छ। विभिन्न खेलकुद क्लबहरूमा पनि उनको लगानी रहेको छ।

माल्याको स्वामित्वमा भारतीय प्रिमियर लिग (आईपीएल) खेल्ने रोयल च्यालेन्जर्स बैंग्लोर क्रिकेट क्लब रहेको छ। युनाईटेड बु्रअरी कम्पनीले इस्ट बंगाल र मोहन बंगाल नामका दुई फुटबल क्लबको प्रायोजन गरेको छ।

त्यस्तै माल्या युनाइटेड रेसिङ र ब्लडस्तोक ब्रिडर्स नामका घोडा दौड टिमका मालिक हुन्।

(समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्