राष्ट्रपतिको बाक्लो भेटघाट



टीका बन्धन, काठमाडौं
रत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँका भारतीय समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन सोमबार विशेष सम्मानका साथ स्वागत गर्नुभएको छ।

भारतीय राष्ट्रपति कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीका भारतीय समकक्षी मुखर्जी, प्रधानमन्त्री मोदी, भारतका विभिन्न दलका नेतालगायत भारतीय उच्च अधिकारी उपस्थित थिए। मंगलबार बिहान राष्ट्रपति भण्डारीलाई भारतीय सेनाको एक विशेष टोलीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।

सो कार्यक्रमपश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र नयाँ उचाइमा पुयाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो। नेपाल–भारत वर्षौंदेखि निकट रहेको बताउँदै उहाँले आफू पनि व्यक्तिगतरूपमा भारतसँग निकट रहेको बताउनुभयो। राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रमपछि राष्ट्रपति भण्डारी मंगलबार दिनभर शिष्टाचार भेटवार्तामा व्यस्त रहनुभएको थियो।

उहाँले भारतीय समकक्षी मुखर्जी, उप–राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतका उच्च अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा भारतीय उच्च अधिकारीहरूले नेपालमा हुन लागेको स्थानीय निकायको निर्वाचन, भूकम्पपछिको पुनर्निर्माणमा भइरहेका प्रयास जस्ता विषयमा चासो लिएका थिए।

त्यसै गरी भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजना, नेपालको विकास कार्य, दुई देशको सम्बन्ध थप सुदृढ बनाउने बारेमा भारतीय चासो रहेको बताइएको छ। भारतीय राष्ट्रपति मुखर्जीले नेपालको शान्ति, स्थायित्व र विकास निर्माण कार्यमा चासो व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यस्ता कुराको प्राप्तिमा नेपाल सफल बन्ने विश्वास व्यक्त गर्नु भएका मुखर्जीले भारतीय सहयोग निरन्तर रहने बताउनुभएको बताइएको छ।

उहाँहरूबवीच अन्य राजनीतिक कुराकानी भने नभएको मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतको सहभागिता रहेको थियो। राष्ट्रपति भण्डारी र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ताका क्रममा निर्वाचनको चर्चा नभए पनि मोदीले भारतसधैं नेपालको समृद्धि र सबै प्रयासमा साथमा रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै मोदीले भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजना, भूकम्पपछिको पुनर्निर्माण कार्यमा भारतीय सहयोग र भइरहेका प्रयासबारे चासो व्यक्त गर्नुभएको बताइएको छ। सो भेटवार्तामा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा सरकारले गरिरहेको प्रयासबारे अवगत गराउँदै त्यसका लागि भारत र अन्तर्राष्ट्रिय समुदायको सद्भावको खाँचो औंल्याउनुभएको थियो।

राष्ट्रपतिसँगको भेटवार्तामा विदेश मन्त्री स्वराज र गृहमन्त्री सिंहले भने निर्वाचनको मिति नजिकिँदै गर्दा भइरहेको तयारी, निर्वाचनमा दलहरूको सहभागिताजस्ता विषयमा चासो व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो भेटवार्तामा संलग्न परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा भइरहेको तयारीबारे जानकारी दिँदै सबै दलहरूलाई समेटेर सरकार निर्वाचनको गृहकार्यमा जुटिरहेको बताउनुभएको थियो। विदेश मन्त्री स्वराजले भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे चासो व्यक्त गर्दै परियोजनाबारेको चासो प्रधानमन्त्री मोदीको समेत भएको बताउनुभएको थियो।
भारतीय वित्त मन्त्री अरुण जेट्लीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले प्रतिबन्धित भारतीय मुद्रा र त्यसपछि नेपालमा रहेको समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो।

मंगलबार बिहान राष्ट्रपति कार्यालयको विशेष कार्यक्रमपश्चात् राष्ट्रपति भण्डारी राजघाट पुगेर महात्मागान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। त्यसै गरी राष्ट्रपति भण्डारीले यमुनास्थित जैविक विविधता संरक्षण उद्यानको अवलोकन गरेर वृक्षारोपणसमेत गर्नुभएको बताइएको छ। राष्ट्रपतिको सम्मानमा भारतीय राष्ट्रपति मुखर्जीले मंगलबार साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो।

यसैबीच भारत भ्रमण छोट्याएर परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र परराष्ट्र सचिव शंकर बैरागी बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ। मंगलबार लगभग सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भएपछि मन्त्री महत र परराष्ट्र सचिव बैरागी आज बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतराज पौडेलका अनुसार उहाँहरू पूर्वनिर्धारित तालिकाअनुसार बुधबार बिहान ९ बजे काठमाडौं आउँदै हुनुहुन्छ। ‘राष्ट्रपतिको अन्य भ्रमण पूर्वनिर्धारित तालिकाअनुसार कै छ, मन्त्री मात्र स्वदेश फर्कन लाग्नुभएको हो।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

मंगलबार भेटवार्तामा व्यस्त रहनुभएकी राष्ट्रपतिको आज बुधबार भने भेटवार्ताको कार्यक्रम तय गरिएको छैन। उहाँले गुजरात र उडिसाको अवलोकन भ्रमण गर्नुका साथै भारतका द्वारिका, सोमनाथ र पुरीस्थित विभिन्न मन्दिरमा पूजा–आजा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्