सडकमा नाटक



नाट्य समूह लोक सञ्चारले नाटकमार्फत् सामाजिक परिवर्तन ल्याउन भन्दै तराईमा नाटक परिवर्तन मञ्चन गरेको छ। सिराहाको बडहरामालदेखि यो नाटकको मञ्चन थालिएको थियो। पहिलो दिन सिराहाको बडहरामाल र बस्तीपुरमा यो नाटक मञ्चन गरिएको थियो।

नाटक मञ्चनको १३औं दिनमा मञ्चन यात्रा सकिएको हो। धनुषाको गौरीपुरमा ४०औं सो मञ्चन गरेपछि तराईमा परिवर्तन मञ्चनको पहिरो चरणको यात्रा सकिएको छ। यो नाटक सिरहासहित ४ जिल्लाका ४० ठाउँमा मञ्चनपछि नाट्य यात्रा समापन गरिएको छ।

नाटकमा निर्देशक प्रियंका झासँगै गंगाकान्त झा, अनीतारानी मण्डल, रीना रिमाल, राजेश सक्सेना, निलेश झा, सोनु ठाकुर, मुकेश झा, ललित झालगायतले अभिनय गरेका थिए। नाटककी निर्देशक प्रियंका झाका अनुसार दैनिक ३ देखि ४ ठाउँसम्म यो नाटक मञ्चन गरिएको थियो।

नाटक मञ्चनपछि दर्शकले अब शौचालय बनाउने प्रतिबद्धता जनाउँदै सिराहा र सप्तरीका केही गाउँमा त शौचालय निर्माणसमेत गरिएको झाले दाबी गरिन्। झासँगै यो नाटकलाई जीवन बरालले संयुक्त निर्देशन गरेका हुन्।

४५ मिनटको यो नाटक हेरेपछि स्थानीय बासिन्दाले अब घर वरपर चर्पी बनाउने, सरसफाइमा ध्यान दिने जस्तामा आफूहरु विश्वस्त रहेको निर्देशक प्रियंका झाले बताइन्।

सिरहा बस्तीपुर, चौहरवासहित १० ठाउँमा, सप्तरीको, कञ्चनपुर, बभनगामा कट्ट, डिघवासहित १० गाउँमा नाटक मञ्चन स्थानमा नाटक मञ्चन गरिएको थियो। यस्तै धनुषाको गौरीपुर, पुष्पलपुर, रघुनाथपुर, सपही, सिनुरजोरा, इनरवालगायत १० ठाउँ, महोत्तरीको लोहारपट्टी, बगडा, बनौली, इकरहिया, बध्यावन चौरी, महोत्तरीगाउँसहित १० ठाउँमा मञ्चन गरिएको छ।

नाटक रमेशरञ्जन झाले लेखेका हुन्। सफा खानेपानी र सफसफाइ अभियानअन्तर्गत यो सन्देशमूलक नाटक मञ्चन गरिएको यसका लेखक झाले जानकारी गराए। ‘मूलत यी ४ जिल्लाका ग्रामीण भेकमा अहिले पनि सडकछेउ तथा खेतमा खुलारूपमा दिशा–पिसाब गर्ने प्रचलन छ। घरमा चर्पी नभएका कारण नारीहरुले दिनभर दिसा रोकेर बस्नुपर्ने बाध्यता छ’, उनले भने– ‘सोही कारण नाटक मञ्चन गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्