डोटीमा कांग्रेस, एमालेबीच नै प्रतिस्पर्धा हुने



विमल विष्ट,डोटी
आसन्न स्थानीय तहको निर्वाचनमा डोटीमा कांग्रेस तथा एमाले दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू आमसभा, कोणसभा, सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा घरदैलोजस्ता कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न थाले पनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्।

दुई निर्वाचन क्षेत्र भएको डोटीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेले एक÷एक सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एक र एमालेले एक सिट जितेका थिए।

त्यस्तै २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको दिपायल सिलगढी नगरपालिकाको प्रमुख र कांग्रेसले जिल्ला विकास समितिको सभापतिलगायत बहुमत गाविसका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष र वडा सदस्य जितेको थियो। २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो।

सबै दल योग्य उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छ। नेकपा एमालेले डा. केआई सिंह, जोरायल, बोगटान गाउँपालिका र शिखर नगरपालिकामा उम्मेदवार छानी सकेको छ।

त्यस्तै कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार छान्न संयोजक तोकेको छ। संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाइने कांग्रेसका पदम रावतले जानकारी दिनुभयो। नेपाली कांग्रेसले वैशाख ४ वा ५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाउने पार्टीका जिल्ला अध्यक्ष प्रदीप देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पार्टी आमसभा र कोणसभामा लागेको र यी कार्यक्रम सकेपछि सबै उम्मेदवार टुङ्गो लाग्छ।’ यहाँको दिपायल सिलगढी नगरपालिकामा महिलातर्पm एमालेका मञ्जु मलासी, प्रेमबहादुर शाह, लक्ष्मण मलासी, पूर्णराज जोशी, कांग्रेसबाट विजय खड्का, वीरेन्द्र शाह, जित खड्का, उपमेयरका लागि महिलाबाट कमला बोहरा, पार्वतीदेवी चन्द तथा प्रशिस महराको चर्चा चलेको छ भने माओवादी केन्द्रबाट भने कसैको नाम बाहिर आएको छैन्।

प्रतिक्रिया दिनुहोस्