मतदानबाट एमाले प्रमुख र उपप्रमुख छनोट



रोशन पराजुली,हेटौडा
स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका गाउँ, नगरको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित गाउँ तथा नगर कमिटीले सिफारिस गरेको छ। शनिबार पार्टीको सम्बन्धित गाउँ, नगर तथा उपमहानगर कमिटीको भेलाबाट जिल्लाका ८ वटै स्थानीय तहको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस गर्ने निर्णय भएको हो।

हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि एमाले मकवानपुरले मतदान प्रक्रियामार्फत् उम्मेदवार छनोट गरेको हो।

सर्वसम्मतिमा उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्न नसकेपछि शनिबार पार्टीको नगर कार्यसमितिका पदाधिकारी र सदस्यले मतदानमार्फत् उम्मेदवार छनोट गरेका हुन्।

मतदानबाट धेरै मत ल्याउने तीन÷तीन जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ। एमालेको मेयर र उपमेयरमा आकांक्षी तीन जनाको नाम जिल्लाले केन्द्रमा सिफारिस गर्नुपर्ने प्रावधान छ।

मेयरमा हरिबल महत, कमल विष्ट र विष्णु ओझाको नाम सिफारिस भएको छ। मतदानमा महतले १ सय २२, विष्टले १ सय १२ र ओझाले ८३ मत ल्याएका थिए। जिल्ला अध्यक्ष मुनु सिग्देललाई ७० मत प्राप्त भएको जनाइएको छ। चार आकांक्षीमध्ये कम मत ल्याएका कारण सिग्देल सिफारिस हुन सकिनन्।

उपमेयरमा तीन जनाका लागि ५ जना चुनावी प्रक्रियामा सामेल भएका थिए। जसमा एकलाल श्रेष्ठ, मीना लामा र जुनेली श्रेष्ठको नाम केन्द्रमा सिफारिस भएको छ। मतदान प्रक्रियाबाट श्रेष्ठले ९४, लामाले ९१ र जुनेलीले ६८ मत प्राप्त गरेका थिए।

कम मत ल्याउने श्रीधर पोखरेल र फुर्वा दोर्जे लामा सिफारिस हुन सकेनन्। पोखरेलले ६६ र लामाले ६५ मत ल्याएका थिए। नगर कमिटीका १ सय ३५ जनाले मतदान गरेका थिए। सिफारिस भएकामध्येबाट पार्टी केन्द्रले एक÷एक जना
मेयर र उपमेयर उम्मेदवार घोषणा गर्ने जनाइएको छ।

एमालेले थाहा नगरपालिकामा मेयरका लागि विष्णु ढकाल, राजकुमार जंगली, अच्युुतम ढकाल, राजु नापित र केदार बलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने उपमेयरमा कल्पना बलामी र सान्नानी अधिकारीको नाम सिफारिस हुने भएको छ।

बकैया गाउँपालिकाबाट दलबहादुर लामा वाइबा र सरला बोलखे सर्वसम्मत प्रमुख र उपप्रमुखमा सिफारिस भएका छन्। मकवानपुरगढी गाउँपालिकाबाट बिदुर हुमागार्इं र हर्कमाया रुम्बा प्रमुख र उपप्रमुखमा सर्वसम्मत सिफारिस भएका छन्। भीमफेदी गाउँपालिका प्रमुखमा हिदम लामा सर्वसम्मत भएका छन् भने उपप्रमुखमा पार्वती रानामगर र भगवती पुडासैनीको नाम सिफारिस हुने भएको छ।

इन्द्रसरोवर गाउँपालिकामा देवकृष्ण (डीके) पुडासैनी र जीवन लामा प्रमुखमा सिफारिस भएका छन् भने उमा लामा उपप्रमुखमा सर्वसम्मत सिफारिस भएकी छन्। कैलाश गाउँपालिका प्रमुखमा भोटु विष्ट, टंकबहादुर मोक्तान र श्याम उप्रेतीको नाम सिफारिस गर्ने निर्णय भएको छ भने उपप्रमुखमा सुकुमाया थिङ र ज्ञानीमाया लामाको नाम सिफारिस गर्ने निर्णय भएको छ। राक्सिराङ गाउँपालिकाको प्रमुखमा लालबहादुर थापा र कृष्णबहादुर चेपाङको नाम सिफारिस गर्ने निर्णय भएको छ भने उपप्रमुखमा सुन्तली चेपाङको नाम सर्वसम्मत सिफारिस भएको छ।
मनहरी गाउँपालिकामा एकराज उप्रेती, भूमिनन्द गौतम र सरिता विकको नाम प्रमुखका लागि र मनिला विष्ट र मीरा थापामगरको नाम उपप्रमुखका लागि सिफारिस भएको छ। बागमती गाउँपालिका प्रमुख र उपप्रमुख छनोटका लागि भने शनिबार अबेरसम्म निर्णय हुन सकेको थिएन।

नेकपा एमालेले वडा अध्यक्ष र सदस्यका उम्मेदवार सम्बन्धित वडा, गाउँ तथा नगर कमिटी हुँदै जिल्ला कमिटीबाट टुंग्याउने छ भने गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित प्रदेश कमिटीले टुंग्याउनेछ। नगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार सम्बन्धित नगर कमिटीको सिफारिसमा जिल्ला प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीले टुंग्याउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्