पूर्वाधार अभावमा बितेको वर्ष



रोशन पराजुली, हेटौंडा

खेल क्षेत्र नेपालमा सबैको चासोको क्षेत्रका रूपमा रहेको छ। तर, पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलकुदका गतिविधिहरू सधैं पछाडि परेको छ।

खेलकुद क्षेत्रमा थोरै मात्र बजेट छुटिनुले नेपालको खेलकुद कहाँनेर रुमलिएको छ र केबाट अल्मलिएको छ भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ। विशेष गरी मकवानपुरको सदरमुकाम हेटौंडाको मुटुमा रहेको हुप्रचौरमा क्रिकेट खेलमैदान निर्माणका लागि केही रकम छुट्टिने गर्छ। तथापि, मैदान खेलका लागि भन्दा पनि खुलामैदानको अवधारणाबाट बनेको छ।

विभिन्न ग्रामीण भेगमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलमैदान निर्माणका लागि केही वर्षदेखि बजेट प्राप्त हुने गरेको छ। गत वर्ष पनि ग्रामीण क्षेत्रमा खेलकुद पूर्वाधार विकासका लागि बजेट प्राप्त भएको छ। बजेटको निरन्तरता रहनुले पनि मकवानपुरमा खेलकुदको विकासमा पूर्वाधार निर्माणमा कुनै काम नै नभएको भन्न मिल्दैन। तर, जति हुनुपथ्र्यो त्यो भने पक्कै हुन सकेको छैन।

नेपालको एकमात्र राष्ट्रिय खेलकुद प्रतिष्ठानका रूपमा अगाडि बढाइएको हेटौंडा–६, गौरीटारको सन्तोषजनक कार्यप्रगति हुन सकेको छैन। पर्खाल लगाउने, आवासिय भवनहरू निर्माण गर्नेबाहेक उल्लेखनीय काम हुन सकेको छैन। मकवानपुरमा इन्डोर गेमका लागि एउटा पनि कभर्ड हल नहुनाले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनौट खेलका कुनै प्रतियोगिता जिल्लामा गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दीपेन्द्र ढकालले बताए।

पूर्वाधार अभावका कारण गत वर्षबाट शुरू भएको मकवानपुरको सबभन्दा ठूलो फुटबल प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण जसोतसो टरेको छ। स्थायी प्याराफिट नहुँदा दर्शक ठूलो घुइँचोको बीचमा खेल हेर्न बाध्य भए।

जिल्लास्तरका भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता र मार्सल आर्टस्का केही प्रतियोगिता सञ्चालन भएका थिए। तर, क्रिकेटका लागि राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नसक्ने क्षमता रहेको पिच निर्माण हुप्रचौरमा गरिएको भए पनि कुनै पनि राष्ट्रियस्तरको प्रतियोगिता हुन नसक्नुले पिचको संरक्षण र सम्वद्र्धन नहुने पो हो कि भन्ने आशंका मकवानपुरे खेलप्रेमीले व्यक्त गरेको पाइयो।

‘मकवानपुरको खेल इतिहासलाई जीवन्त राख्न खेलाडी उत्पादनका गर्दै खेलकुद पूर्वाधारमा विकास गरी सबै खेलका प्रतियोगिता सञ्चालन गर्नु जरुरी छ’, उपाध्यक्ष ढकालले भन्नुभयो– ‘खेलकुदका नेतृत्वदायी संस्थाहरू तथा विभिन्न स्थानमा रहेका क्लबहरूले स्थानीय व्यवसायी तथा सहयोगीको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न सक्नुपर्छ।

मकवानपुरको खेल क्षेत्रले राष्ट्रियरूपमा योगदान पुर्याउने हो भने सबै राजनीतिक दलहरू, खेलकुदका नेतृत्वदायी संघ–संस्थाहरू र मकवानपुरबासीले राष्ट्रिय महत्वमा रहेको गौरीटारमा खेलकुद एकेडेमीमा पर्याप्त बजेट छुट्याई तीव्र गतिमा काम अगाडि बढाउनु जरुरी देखिन्छ। मकवानपुरमा कभर्ड हल नहुनुले इन्डोर गेमहरू गराउन कठिन परेको कुरालाई जिल्लाका नेता तथा खेलकुद संघ–संस्थाहरूले कभर्डहलका लागि मनन गर्न सक्नुपर्ने उनले सुझाए।

कुनै बेला नेपालको बक्सिङ खेल धान्ने गरेको मकवानपुरले सोही स्थितिमा पुनरागमन गर्नका लागि सम्भावित खेलाडीहरू खोजी गर्दै निरन्तर अभ्यास गराउने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ। खेलकुदलाई अनुसन्धान एवं वैज्ञानिक प्रयोगद्वारा वर्तमान आवश्यकताअनुरूप विकसित गर्न सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्