अप्रिल १९ मा ठुलो छुद्रग्रह पृथ्वीसँग नजिकिने



वासिंगटन (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी( नासाले आगामी अप्रिल १९ मा एउटा ठुलो छुद्रग्रह पृथ्वी नजिक करिब १८ लाख किलोमिटरको दुरीबाट सुरक्षित प्रस्थान गर्ने जनाएको छ ।

उक्त छुद्रग्रह पृथ्वीसँग ठोक्किने कुनै सम्भावना छैन । तर यसको आकारको हिसावले यो छुद्रग्रह पृथ्वीसँगको नजिकको दुरीबाट प्रस्थान हुनु नै महत्वपुर्ण हुने जनाइएको छ ।

उक्त छुद्रग्रहको नाम २०१४ जेओ २५ राखिएको छ । यसको खोज सन् २०१४ मा अमेरिकाको एरिजोना स्थित क्याटालिना स्काई सर्वेका खगोलशास्त्रीहरुले गरेका थिए । यो छुद्रग्रहको आकार करिब ६ सय ५० मिटर रहेको छ ।

यसको भौतिक संरचनाका बारेमा अहिलेसम्म कम मात्रै जानकारी रहेको छ । यद्यपी यसको परिक्रमण कक्षका बारेमा पर्याप्त जानकारी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त छुद्र ग्रह सुर्यको दिशाबाट पृथ्वी तर्फ नजिकिने छ र अप्रिल १९ पछि राती आकासमा देख्न सकिनेछ । अर्को पटक यो आकारको छुद्रग्रह सन् २०१७ मा मात्र पृथ्वीको नजिक आउनेछ । त्यतिबेला आउने छुद्रग्रह ८ सय मिटर फराकिलो हुने र त्यो एक चन्द्र दुरी अर्थात करिब ३ लाख ८० किलोमिटरको दुरीमा हुने छ ।

अप्रिल १९ को यस घटनले उक्त छुद्रग्रहको अध्ययन गर्ने एउटा राम्रो अवसर जुट्नेमा वैज्ञानिकहरु आशावादी रहेका छन् । विश्वभरीका खगोलशास्त्रीहरु दुरबिनको सहयोगबाट यसको अध्ययन गर्ने योजनामा जुटेका छन् । विगत ४ सय बर्ष यता यो छुद्रग्रह पृथ्वीको यति नजिक आएको छैन र कम्तिमा आगामी ५ सय बर्षसम्म पृथ्वीको यति नजिक आउने पनि छैन ।

नासाले अप्रिल १९ मा नै अर्को धुमकेटु प्यानस्टार्स (सी–२०१५ इआर ६१) पृथ्वीको नजिक १७ करोड ५० लाख किलोमिटरको दुरीबाट सुरक्षित गुज्रिन जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्