जिविसमा ८० लाख राजस्व हिनामिना



नेपाल समाचारपत्र, हेटौंडा ।
जिल्ला विकास समिति मकवानपुरका केही कर्मचारीले लोथर खोलाबाट ढुंगा, गिटी र बालुवा बिक्रीबापत् राजस्व खातामा जम्मा गर्नुपर्ने ८० लाख रकम हिनामिना गरेको तथ्य फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयले जिविस मकवानपुरको आर्थिक वर्ष २०७२÷०७३ को लेखापरीक्षणका क्रममा लोथर खोलामा बदमासी भएको तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनले ७९ लाख ३० हजार ७ सय ८३ रुपियाँ राजस्व हिनामिना भएको पुष्टि गरेको छ । मकवानपुरको लोथर खोलाबाट चितवन जिल्लातिर नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा निकासी भएको कागज प्रमाण देखिएको भन्दै महालेखाले सबै परिमाण निकासी गर्दा १ करोड ९८ लाख ३४ हजार ४ सय ५८ हुनुपर्नेमा कार्यालयले पेश गरेको बिवरणअनुसार १ करोड १९ लाख ३ हजार ६ सय ७५ मात्र राजस्व खातामा जम्मा भएको उल्लेख गरेको छ ।

प्रतिघनफिट ५ रुपियाँका दरले राजस्व संकलन गर्ने निर्णय भएकोमा ३ रुपियाँका दरलेमात्र राजस्व दाखिला गरिएको महालेखा बताउँछ । लोथर खोलामा भएको अनियमितताबारे तत्कालीन अवस्थामा पत्रकार गिरिजा अधिकारीले सूचना माग गरेका थिए । त्यतिबेला लोथर खोलामा उत्खनन् गरी निकासी गर्दा एकमुष्ठ ५ रुपियाँका दरले रकम उठाएर रसिदमा भने प्रतिघनफिट ३ रुपियाँमात्र लेख्ने गरिएको थियो ।
उक्त क्षेत्रमा विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार नगरी आर्थिक लाभ लिएर काम गरिएको देखिएको थियो । लोथर खोलाबाट के कति परिमाणमा नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा संकलन गरियो र सो प्रयोजनमा छपाइ गरिएका नगदी रसिदबारे पनि छानबिन गर्न महालेखाले भनेको छ ।

सरकारी कार्यालयबाट ५६ करोड अनियमित खर्च
यसैविच मकवानपुरका सरकारी कार्यालयबाट करिब ५६ करोड बेरुजु असुल गर्नुपर्ने देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को लेखापरीक्षणका क्रममा महालेखाले मकवानपुरका सरकारी कार्यालयबाट भएका खर्च रकम कानुनविपरीत भएको, रित नपु¥याइ कारोबार गरेको, प्रचलित कानुनविपरीत लेखा राखेको, बेमनासिव तरिकाले कारोबार गरेकोलगायत कारण बेरुजु रकम बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्