मुम्बई इन्डियन शीर्षमा



नयाँदिल्ली, (एजेन्सी)
इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पाँच खेलमा ४ जितसँगै मुम्बईको ८ अंक छ। १ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी रहँदा जित हासिल गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षति १ सय ७६ रन बनाएको थियो। १ रनमा पहिलो विकेट गुमाएको गुजरातका लागि ब्रेन्डन म्याक्कलम र सुरेश रैनाको ८० रनको साझेदारीले इनिङ्स सम्हालेको थियो।

रैना २८ रन बनाउँदै आउट भए भने म्याक्कलमले ६४ रनको योगदान दिए। पाँचौं विकेटमा आएका दिनेश कार्तिकले २६ बलमा ४८ रन बनाउँदै गुजरातलाई प्रतिस्प्रर्धात्मक स्कोरतर्फ डोर्याए। मुम्बईका मिचेल म्याकक्लिनघनले २ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले १ विकेट लिए।

१ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले शून्यमै पहिलो विकेट गुमायो। इनिङ्सको दोस्रो बलमा पार्थिव पटेललाई गुमाएको मुम्बईका लागि दोस्रो विकेटका लागि नितिश राना र जोस बटलरबीचको ८२ रनको साझेदारीले खेलमा फर्किन मद्दत गर्यो। राना ९ रनमा छँदा जेसन रोयले क्याच छुटाएपछि उनले अर्धशतक प्रहार गरेका थिए। ५३ रन बनाउँदै कट बिहाइन्ड भएका राना र २६ रन बनाएका बटलर आउट भएपछि कप्तान रोहित शर्मा र किरोन पोलार्डको योगदानले मुम्बईले जित हासिल गर्यो।

रोहितले २९ बलमा ४० रन जोडे भने पोलार्डले २३ बलमा ३९ रनको योगदान दिएका थिए। गुजरातका लागि एन्ड्रयु टाईले २ विकेट लिए भने मुनाफ पटेल र प्रविन कुमारले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्