ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन



आयकर तिरेको दस्तावेज सार्वजनिक गर्न माग

वागिङटन, (एजेन्सी)

अमेरिकामा देशव्यापी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। ट्रम्पको आयकरसम्बन्धी दस्तावेज सार्वजनिक नगरेको विरोधमा विरोध प्रदर्शनको आयोजना गरिएको हो। अमेरिका व्यापी १ सय ५० भन्दा धेरै शहरमा विरोध र्याली निकालिएको जनाइएको छ।

प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प आफ्नो आयकरसम्बन्धी दस्तावेज सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। वासिङटन, लस एन्जलस, न्युयोर्क र सिकागोसहित थुप्रै शहरमा भएका प्रदर्शनमा हजारौंले भाग लिएका थिए। न्युयोर्कमा ६ हजारभन्दा बढी प्रदर्शनकारीले ब्रायन्ट पार्कमा र्यालीपछि निकालेको जुलुस फिफ्थ एभेन्युस्थित ट्रम्प टावर नजिक पुगेर टुगिंएको थियो।

प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए। केहीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको र केहीले कर विवरण देखाउन नारा लगाएका थिए। प्रदर्शनकारीले ट्रम्पविरोधी नारा लेखिएका ब्यानर बोका थिए।
यसबीच क्यालिफोर्निया र्यालीका क्रममा केही ट्रम्पविरोधी र ट्रम्प समर्थकहरूबीच झडप भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। तर, न्युयोर्कमा भने विरोध प्रदर्शन शान्तिपूर्ण रह्यो। राष्ट्रपति ट्रम्पले चुनाव जितिसकेको र अब जनतालाई उनको आयकरको विवरणका विषयमा कुनै चासो नभएकाले ती दस्तावेज सार्वजनिक गर्नु कुनै आवश्यक नठानेको बताएका छन्।

अमेरिकामा यो वर्षको अप्रिल १८ मा आयकर जम्मा गर्ने अन्तिम तारिख हो। राष्ट्रपतिलाई दबाब दिनका लागि यो प्रदर्शनको आयोजित गरिएको हो।

केहिले राष्ट्रपति ट्रम्पले आयकर तिर्दै आइरहेका छन् वा छैनन् भन्ने विषयमा पनि प्रश्न उठाएका छन्। उनीहरूले इनकम ट्याक्सबाट जनताको ध्यान अन्त मोड्न सिरिया र अफगानिस्तानमा बमबारी गरेको आरोपसमेत लगाएका छन्।
प्रदर्शनकारीहरूले विगत ४० वर्षदेखि हरेह राष्ट्रपतिले आफ्नो ट्याक्सका दस्तावेज सार्वजनिक गरेको र उनले पनि यो परम्परालाई जारी राख्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्