आर्मी उपाधि नजिक



काठमाडौं, (नेस)
आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी उपाधि नजिक पुगेको छ।

आइतबार आर्मीले साविक विजेता हेल्प नेपालमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा चिर प्रतिद्वन्द्वी नेपाल पुलिससँग भेट पक्का गरेको छ। आर्मीले पहिलो सेटमा २०–२३ ले पछि परेको अवस्थालाई सुधार गरेको थियो। ४ भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई २३ अंकमा रोक्दै लगतार ५ अंक जोडेपछि आर्मीले २५–२३ ले जितेको थियो।

दोस्रो सेट भने हेल्प नेपालले २५–१९ ले जित्दै खेलमा फर्कने संकेत दियो। तर, तेस्रो सेट पुनः आर्मीले २५–२१ जित्दै खेलमा २–१ को अग्रता लियो। चौथो सेट हेल्प नेपालले २५–२० ले पुनः आफ्नो पक्षमा पारेपछि खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो। तर, निर्णायक पाँचौं सेट आर्मीले १७–१५ ले जित्दै फाइनलमा स्थान सुरक्षित गर्यो। जारी लिगमा नेपाल पुलिस अपराजित हुँदै फाइनल प्रवेश गर्दा आर्मी पुलिससँग मात्र पराजित भयो।

महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमी फाइनल यात्रा तय गरेका छन्। दुवै टिमले अपराजित रहँदै ४ खेलबाट समान १२ अंक जोडेका छन्। न्यु डायमन्ड र एपीएफले एक खेलअगावै उपाधि भिडन्त पक्का गरेका हुन्। खेल तालिकाअनुसार दुवै वर्गमा लिगको पहिलो र दोस्रो स्थानमा रहने टिमले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्नेछन्।

लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो। लिगको दुवैतर्फको विजेताले २ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउनेछ।

विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपियाँ पुरस्कार हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्