राष्ट्रपति आज भारत जाँदै



जाने र आउने दिन सार्वजनिक बिदा

काठमाडौं, (नेस)
सरकारले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्वीकृत गर्दै राष्ट्रपति भ्रमणमा जाने दिन आज सोमबार र उहाँ फर्कने दिन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी बिदा दिने चलन पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकालदेखि रोकिएको थियो। तर त्यो व्यवस्थालाई तोड्दै सरकारले अहिले बिदा दिने निर्णय गरेको हो। यसअघि गत कात्तिक १७ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने निश्चित भएपछि सरकारले सार्वजनिक बिदा दिएको थियो।

मुखर्जीको भ्रमणका क्रममा घोषणा गरिएको सार्वजनिक बिदाको आलोचना र नैतिक दबाबका कारण सरकारले विगतको परम्परा तोड्न बाध्य भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।
त्यसै गरी भ्रमणको मितिबारे प्रस्ट जवाफ नपठाउँदै सरकारले चिनियाँ राष्ट्रपतिले गर्ने भनिएको नेपाल भ्रमणका क्रममा समेत बिदा दिने निर्णयको निकै आलोचना भएको थियो। आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्दै सार्वजनिक बिदाको निर्णय गरेको हो।

राष्ट्रपति भण्डारी सोमबार बिहान ११ बजे ३४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल एयर लाइन्सको विमानबाट राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास बैरागीलगायतका अधिकारी संलग्न हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत भारतीय उच्च अधिकारीहरूसँग छुटाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि भ्रमणका क्रममा दुवै मुलुकबीच कुनै किसिमको सम्झौता नहुने भएपछि परराष्ट्रमन्त्री महत दिल्ली नजाने तयारीमा हुनुहुन्थ्यो। तर, राष्ट्र प्रमुख र सरकार प्रमुखको विदेश भ्रमणमा परराष्ट्रमन्त्री भ्रमण टोलीका अनिवार्य सदस्यका रूपमा सहभागी हुने प्रचलन रहेकाले मात्र मन्त्री महत अहिलेको भ्रमणमा सहभागी हुनुभएको परराष्ट्र निकट स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारीसहित नेपाली टोलीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले आज सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्