लागू औषध विरुद्ध सडक नाटक



ललितपुर ,(नेस)। प्रहरी र समुदायको पहलमा ललितपुरको बंगलामुखी र मंगलबजारमा लागू औषध विरुद्ध शनिबार सडक नाटकको आयोजना गरियो ।
महानगरीय प्रहरी प्रभाग मंगलबजारले राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरको शाखाको संयोजनमा नृत्यसंगै लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने सन्देश प्रवाह हुने नाटक देखाइएको थियो । नाटक हेर्न युवायुवतीहरुसंगै विभिन्न महिला समूहको विशेष सहभागिता रहेको थियो
पछिल्लो पटक ललितपुरका विभिन्न स्थानमा लागू औषध सेवनकर्ताहरु भेटिएको र तिनिहरु मध्येबाटै लागू औषधको कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिइएको अवस्थामा प्रहरीले महासंघसंग मिलेर लागू औषध दुव्र्यसन विरुद्धको अभियान शुरुआत गरिएको हो । महासंघका सहसचिव प्रणीता शाक्यको संयोजनमा भएको सडक नाटकका कलाकार तथा व्यवस्थापन सहयोगीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक राईले मनोरञ्जनसंगै सडक नाटकले उपयोगी सन्देश प्रवाह गरेको धारणा राख्दै आफ्ना सन्तानहरु कुलतमा फस्न सक्ने, फसेमा प्रहरीसंग आवश्यक समन्वय गरेर सुधार गृहमा लग्ने र लागू औषध कारोबार विरुद्ध समुदायको भूमिका महत्व हुने बताउनुभयो । उहाँले युवाहरु मार्फत लागू औषध दुव्र्यसनी विरुद्ध अभियान थालनी हुनु सकारात्मक रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले अपराध, सामाजिक विकृतिविसंगति, घर परिवार तहसनहस हुनुको महत्वपूर्ण कारण रहेकोले यसका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औल्याउँदै यस्ता कार्यमा सघको सदैव साथ, सहयोग रहने बताउनुभयो ।
महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश थापाले अहिले भेटिएका लागू औषध दुव्र्यसनकर्ता भन्दा ठूलो संख्यामा लागू औषध दुव्र्यसनकताहरु समाजमा रहेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताउँदै उनीहरुलाई सही दिशा दिन प्रहरीसंगै समुदायले सक्रिय सहयोग गनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका अध्यक्ष राजेश बज्रचार्यले प्रहरी मेरो साथीको मर्मलाई जनस्तरमा स्थापित गर्ने दीर्घकालीन उद्देश्य अनुरुप लागू औषध विरुद्ध बृहत सचेतना फैलाउन अभियानकै रुपमा निरन्तरता दिँदै आएको बताउँदै यसलाई आउँदा दिनहरुमा बृहतस्तरमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण समितिका अध्यक्ष अजरमान जोशी, समाजसेवी मोतिशान्ति शाक्यको समेत उपस्थिति रहेको सो समारोहमा ललितपुर उपमहानगरपालिका वडा नं २२ का पूर्वअध्यक्ष अरोजकुमार खड्गी, अधिवक्ता लक्ष्मण महर्जनले लगायतले लागू औषधमा आफ्ना छोराछोरी फस्न सक्न बारे अभिभावक र आफन्तले सावधानी अपनाउनुपर्ने र यस अभियानमा आफ्नो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही समययता प्रभागले लागू औषध सेवनसंगै कारोबारमा संलग्न र कारोबारमा संलग्न युवाहरुलाई पक्राउ गरेपछि यस समस्याको गम्भीरता स्थानीयवासिन्दा थप महसुश गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्