स्थानीय चुनाव पर्व



डा. ईश्वरीप्रसाद गैरे

सिंगो देशको धार्मिक, सांस्कृतिक प्रचलनमा अनेक पर्व र अनेक उत्सव भएझैँ राष्ट्रिय राजनीतिक प्रचलनको चुनावी प्रक्रियालाई समेत राजनीतिक पर्वका रूपमा लिन सकिन्छ। यसै सन्दर्भमा अब हुन गइरहेको उन्नाइस वर्षपछिको यो स्थानीय चुनावलाई स्थानीय चुनावी राजनीतिक पर्वका रूपमा उल्लेख गर्न सकिन्छ। राष्ट्रिय जीवनमा महत्वपूर्ण प्रभाव असर र परिणाम भित्र्याउने यो चुनाव सन्दर्भ एक चुनावी पर्वकै रूपमा महत्वपूर्ण भएको कुरालाई स्वीकार्न सकिन्छ।

नेपालको संविधान निर्माण पछिको महत्वपूर्ण खुसीका रूपमा राष्ट्रिय स्वरूपमा स्थानीय चुनाव नै भइआएकाले यसलाई स्थानीय चुनाव पर्वका रूपमा आँकलन गर्न सकिन्छ। किनभने यसले नै संविधानलाई कार्यान्वयन गर्छ भने कार्यगतरूपमा देशका नियम र विधानलाई परिचालित गर्न मद्दत पुर्याउँछ। यस अर्थमा राष्ट्रकै सम्पूर्ण अ·मा यसले महत्वपूर्ण खुसी ल्याउँछ।

आज देशमा स्थानीय तहको चुनावको सरगर्मी बढिरहेको छ। पूरै देश चुनावमय भएर यसकै निम्ति व्यस्त भइसकेको छ। पार्टीहरू आ–आफ्ना योग्य, प्रभावशाली र आकर्षक उम्मेदवारको चयन गर्दै चुनावी युद्धमा हामफाल्न आतुर भइरहेका छन्। जे जसरी हुन्छ पार्टी स्थानीय तहको चुनावमा भारी बहुमत साथ विजयी हुनुपर्छ भन्ने भावमा जुर्मुराइरहेका छन्। स्थानीय जनता पार्टी राजनीतिको यो चुनावमा आफ्नो राजनीतिक भविष्य आँकलन गर्न प्रत्येक पार्टीका प्रत्येक क्रियाकलाप, कार्यभूमिका र योगदानको इतिहासलाई साक्षी राख्दै यसतर्फ गम्भीर भएर चुनावी परिणाम महत्वपूर्ण बनाउन कम्मर कसेर लागिरहेका छन्।
साँच्चै भन्ने हो भने स्थानीय तहको यो चुनावमा राजनीतिक मुद्दा मात्रै होइन, राजनीतिक परिवर्तनको भूमिका मात्रै होइन, पार्टीकै रबर स्ट्याम्पमय अन्ध समर्थन मात्रै होइन अपितु देशको राजनीतिक भविष्य कसरी समुज्ज्वल हुन्छ त्यो आँकलन गर्नसमेत कटिबद्ध हुनुपरेको छ। मीठा नारा, गुलिया भाषण र तुकबन्दी र तर्कका बौछारका तालिका गड्गडाहट मात्रै होइन, देशका निम्ति कुन पार्टी बढी सक्रिय छ, संलग्न छ र बढी तदारुक छ त्यसकै झोलीमा चुनावी परिणाम खन्याइदिनुपर्ने समयको यथार्थ आँकलन एवम् परिणाम भइरहेछ।
साँच्चै भन्ने हो भने देशमा चुनावको पर्व आइसकेको छ र यसको वातावरणले मेचीदेखि महाकालीसम्म चुनावी गन्थन, मन्थन निष्कर्ष र निर्णयका बौछारहरूको प्राकट्य भइरहेको छ। यस क्रममा हेर्दा सरदर नेताले राम्रै भाषण गर्छन्, राम्रै राजनीति गर्ने आशावादी भएका अनुभूतिसमेत पोख्छन्। तर चुनाव परिणाम आएपछि ती नेताका भाषण एकातिर, तिनको राजकीय शासन सत्ता अर्कातिर गर्ने यो क्रम धेरै नै अघि बढिसकेको छ।

यसर्थ यस किसिमको चुनावी स्वार्थ साँध्ने र पाल्ने पार्टी र यसका यस्ता नेताबाट समेत देशलाई मुक्ति दिलाउनुपरेको छ, आजादी दिलाउनुपरेको छ र स्वार्थविहीन स्वतन्त्र देशको राजनीति निर्माण गर्नुपरिरहेको छ। कुनै पनि पार्टीलाई चुनावमा मतदान नदिऊँ भने आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्नबाट वञ्चित भइन्छ, मतदान गरौं भने त्यसको परिणाम नराम्रो, दुरूपयोग र महत्वहीन हुन सक्ने समेत सम्भावना रहेको छ।
साँच्चै भन्ने हो भने चुनावी लहर, चुनावी रहर र चुनावी जोश जाँगरको यो चुनावको पर्वमा जुन पार्टीले विकासको लहर ल्याउन सक्षम हुन्छन् तिनका उम्मेदवारलाई नै प्रथमतः विजयी गराउनुपर्ने देखिन्छ भने पार्टी इतिहासको गतिविधि, क्रियाकलाप र महत्वपूर्ण भूमिका के–कस्ता छन्, तिनलाई समेत हेक्का राख्नुपर्ने देखिन्छ।
यो चुनावी पर्वले देशभरि नै छपक्कै छोपिसकेको छ। प्रत्येक नागरिक आफ्नो अधिकार प्रयोग गर्दै देशको स्थानीय तहको शासकीय स्वरूपमा अहम् भूमिका खेल्न तयार भइसकेका छन्। प्रत्येक पार्टी परिणाम आफ्नोतर्फ ल्याउने सरगर्मीमा जुटिरहेका पाइन्छन्।

विशेष गरी राजनीतिक पार्टीहरू पार्टीको इतिहासले हुन्छ कि, पार्टीको सिद्धान्तले हुन्छ कि, पार्टीको राजनीतिक सत्तामा गरिएका कार्यकलाप र भूमिकाले हुन्छ कि अथवा के गरेर हुन्छ आफ्नो पार्टीलाई स्थानीय चुनावमा विजयी तुल्याउन लागिपरेका छन्, जुटिरहेका छन् र एक अर्थमा जुर्मुराइरहेका छन्।

नेपालका पार्टीहरू कसरी चुनाव जित्ने, कसरी सत्तामा जाने र जनतालाई आफ्नो मुठीमा राख्दै कसरी स्वार्थ पूर्ति गर्ने जस्ता राजनीतिक चक्रब्यूहको निर्माण गर्ने कटिबद्ध र खप्पिस भइरहेका पाइन्छन्। हामी जनता भने कुनै न कुनै पार्टीको राजनीतिक हतियारको सिकार बन्न बाध्य भइरहेका छौं। यसर्थ जसरी हुन्छ, जनता र नेता मिलेर देशको राजनीतिलाई व्यवस्थित, स्वच्छ र पारदर्शी तुल्याउन आवश्यक देखिएको छ।

यतिखेर पार्टी राजनीतिका नराम्रा पक्षलाई सधैँका लागि समाप्त गर्नुपरेको छ। यस राजनीतिक पर्वका रुपमा उदाएको चुनावी माहोललाई सार्थक बनाउन सबै जुट्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्