पूर्व–पश्चिम अनिश्चित,अब कान्तिलोकपथतिर



नेपाल समाचारपत्र
हेटौंडा
सरकारले पूर्व–पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रका २५÷२५ मिटर फराकिलो पार्ने अभियानले तरंगित पारिरहेको हेटौंडामा कान्तिराजपथ क्षेत्रबाट १५÷१५ मिटरमा पर्ने घरटहरा हटाउन सार्वजनिक सूचना जारी गरेपछि थप चर्चा शुरू भएको छ।

सडक विभाग कान्तिलोकपथ सडक आयोजनाले हेटौंडाको बुद्धचौकबाट पूर्वतिर कान्तिराजपथ, चौघडा हुँदै चुच्चेखोलादेखि गैरीगाउँ, शिखरकटेरी, ठिंगन, नयाँबस्ती, टीका भैरवसम्ममा पर्ने सडक सीमा रेखाबाट दायाँबायाँ १५÷१५ मिटर फराकिलो पार्ने कार्यका लागि उक्त क्षेत्रमा पर्ने घरटहरा हटाउन निर्देशन दिएको हो।

कान्तिलोकपथ मार्गका रूपमा रहेको उक्त सडक फराकिलो पार्ने अभियानको ठेक्का भइसकेकाले तत्काल उक्त क्षेत्रमा पर्ने घरटहरा हटाउन सूचनामार्फत् आग्रह गरिएको हो। सडकको सूचनालाई बेवास्ता गरिए आफैं भत्काउने सडक विभागले जनाएको छ।

हेटौंडा घर भएका उपप्रधानमन्त्री कमल थापा, गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, मकवानपुर क्षेत्र नम्बर ३ का सांसद् अनन्त पौडेल, हेटौंडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरूणराज सुमार्गी, केन्द्रीय सदस्य राजकुमार न्यौपाने, नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुर अध्यक्ष नवराज न्यौपानेलगायतले हेटौंडामा पूर्व–पश्चिम राजमार्गको २५ मिटर सडक विस्तार प्रक्रियाको विरोध गरेका छन्।

उनीहरूले ‘इकोनोमिक खम्बा’का रूपमा सरकारसँग सधैं हातेमालो गरिरहेको बताउँदै यसको पृष्ठभूमि स्मरण गर्दै ५० वर्ष पहिले स्थापित शहर हाल खण्डहर बन्ने प्रक्रियामा रहेको हँुदा यसले पार्ने नकारात्मक प्रभावका विषयमा सरोकारवाला राजनीतिक दल तथा सरकारी निकायले यसलाई नीतिगतरूपमा हेरिदिन आग्रह गरेका छन्।

५० वर्ष पहिले सोचेको बाटोका भौतिक संरचनाको भर्खर कुरा चलिरहेको बताउँदै स्थापित भएका राम्रा संरचना विस्थापित गरेर कुरूप बन्ने अवस्थाबाट बचाउन सरोकारवालाले समयमै ध्यान दिनसमेत उनीहरूले आग्रह गरेका छन्।

सुमार्गीले वीरगन्ज भन्सारबाट आउने बाटो साँघुरो भयो भनेर भन्सारलाई अन्यत्र स्थानान्तरण गरिसकेको र हाइवेको ट्रयाक पनि खोलिसकेको तथा उद्योग वाणिज्य संघ मकवानपुरले विकल्पको मार्ग खोलिसकेको अवस्थामा एउटा इतिहास बोकेर बसिसकेको हेटौंडालाई नीतिगतरूपमा सरकारी निकायले हेरिदिन सके राज्यले गरेको लगानी खेर नजाने अनि शहरलाई फराकिलो बनाउने सोचमा भताभुंग बनाएर कुरूप बनाउनबाट जोगिनसक्ने उठान गरेका छन्। यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यस कारण सडक कार्यालय हाल मौन छ, पीडितहरू पनि खासै बोलेका छैनन्।

हेटौंडाका करिब ५ हजार घरबहाल उपभोक्तालाई अन्य ठाउँमा बस्ने व्यवस्था नबनाई बजार भत्काइयो भने संघले ‘ठूलो कदम चाल्ने’ न्यौपानेले दाबी गर्नुभयो। घर बहाल उपभोक्ता संघ उपाध्यक्ष पवनकुमार भगतले यस प्रकरणले झण्डै ४० हजार सर्वसाधारण विस्थापित गर्ने भएकाले राज्य आफंैले यसको विकल्प निकालेपछि मात्र सडक फराकिलो पार्नु उचित रहेको बताउनुभयो।

उहाँले आफूहरू विकास विरोधी नभएको तर राज्यले घरबहालमा बस्दै आएका सर्वसाधारणलाई अन्य ठाउँमा बस्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। घरधनीले बहालमा बस्नेहरूसँग सलामी रकम लिएकाले संघले ती घरधनीलाई कारबाही गर्ने संघ सचिव समिर डंगोलले चेतावनी दिनुभयो। हाल चर्चामा रहेको २५ मिटर प्रकरणको तरंगले संघ पनि आक्रोशित बनेको हो।

प्रतिक्रिया दिनुहोस्