खानेपानीका लागि लाखौं खर्च तर हाहाकार



कोइलाबास, (नेस)
खानेपानीका लागि दाङको कोइलाबासमा लाखौं बजेट खर्चे पनि त्यहाँका स्थानीयले खानेपानीको हाहाकार बेहोर्नु परिरहेको छ। नेपालकै पुरानो नाका कोइलाबासका स्थानीयले लेउ जमेको खोलाको पानी खान बाध्य भएका छन् भने सरकारी कार्यालयका कर्मचारी पिउने पानीका लागि भारतको सीमा सुरक्षा बल (एसएसबी) को शरणमा पर्नुपरेको छ।

खानेपानीमा मात्रै लाखौं बजेट परे पनि योजना त्यहाँ सफल नहुँदा सधैं खानेपानीको हैरानी बेहोर्नुपरेको छ। ‘पोहोर साल १४ लाखको बजेट प¥यो तर कसले के के गरे धारासम्म त बन्यो पानी आएन’ –स्थानीय मालिक सिद्धिकीले गुनासो गरे। त्यहाँका स्थानीयका अनुसार खानेपानीको बजेट सदुपयोग नहुँदा अझैसम्म पनि खानेपानीको हाहाकार भएको हो।

कोइलाबासको सिसौरा खोलामा रहेको ड्याम ढुंगा उत्खनन गरी भारत पठाउँदा भत्किएपछि खोलाको सतह तल जाँदा कोइलाबासमा खनिएका कुवा सुकेका हुन्। हिउँदमा खोला सुक्ने र वर्षामा बाढी आउने भएकाले त्याँका स्थानीय पनि भारतकै शरणमा पर्नुपरेको छ। सबैतिरबाट पानीको स्रोत बन्द हुँदा त्यहाँका स्थानीय पिउने पानीका लागि एसएसबीको शरणमा जानुपरेको छ।

हरेक कुरामा भारत निर्भर हु्न परेका त्यहाँका स्थानीयलाई बेलाबेलामा भारतीय पक्षबाट हैरानी बेहोर्नुपरेको छ। ‘कहिलेकाहीं खाने रासन पनि लिन दिँदैनन्, १५÷२० जनाको हाम्रो परिवारलाई ५ किलो मात्रै भनेर धेरै दुःख दियो’, एक स्थानीयले भने– ‘साह्रै सकस छ।’

सरकारी बजेट बालुवामा पानी

दाङको कोइलाबास नाकामा खानेपानीका लागि वर्षेनी सरकारी बजेट परे पनि बालुवामा पानी जस्तै भएको छ। खानेपानीका लागि हालसम्म लाखौं बजेट खन्याइएको भए पनि त्यहाँका स्थानीय लेउ जमेकोे पानी खान बाध्य भइरहेका छन। आर्थिक वर्ष २०७२÷०७३ मा ग्रामीण खानेपानी शीर्षकमा ७ लाख ५० हजार बजेट परेको थियो। पाइपलाइनको काममा भन्दै ६ लाख ३० हजार ५ सयको भुक्तानीसमेत गरिएको छ।

तर कोइलाबासमा अझै खानेपानी पुग्न सकेको छैन। चालू आर्थिक वर्ष २०७३÷०७४ मा कोइलाबास खानेपानी योजनाका नाममा फेरि ४ लाख ४७ हजार ५ सय रुपियाँको बजेट छुट्याइएको जिल्ला विकास समिति दाङका योजना अधिकृत टेकबहादुर खड्काले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

दिन रात लेउ जमेको पानी खाइरहेका कोइलाबासबासीले खानेपानीको समस्या लिएर नगएको जिल्लाको सम्बन्धित कुनै सरकारी कार्यालय सायदै बाँकी होला। खेती किसानी नहुने कोइलाबास नाकाका स्थानीयले सरकारी निकायका प्रतिनिधिसँग माग्नु सहयोग मागे तापनि पिउने पानीका लागि डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख चोपप्रसाद धितालले स्थानीयको कुरामा चासै नदीएको बताएका छन्।

करिब ४ किलोमिटर टाढा रहेको मुसीनाकाबाट पानी ल्याउन नसकेको भन्दै उनले उल्टो स्थानीयमा दोष थुपारेका छन्। मुसीनाकामा खानेपानीको राम्रो प्रबन्ध भएको तर कोइलाबासमा स्थानीयले चासो नदिएर खानेपानी नगएको उनको दाबी छ। ‘आफू केही गर्दैनन् स्थानीय बासिन्दा सक्रिय छैनन्’, धितालले भन्नुभयो– ‘स्थानीय आफंै कस्सिएमा सक्दो सहयोग गर्छौं भनेकै छौं।’
नायब सुब्बा प्रमुख रहेको भन्सार कार्यालय, प्रहरी सहायक निरीक्षक प्रमुख रहेको जनपद प्रहरीको कार्यालय, प्रहरी निरीक्षक प्रमुख रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, हुलाक कार्यालय, स्वास्थ्य चौकी, गाविस कार्यालय, सरकारी विद्यालयलगायतका कार्यालयका करिब ६ दर्जनको हाराहारीमा रहेका सरकारी कर्मचारी पनि खानेपानीका लागि भारतकै शरण परेका छन्।

त्यहाँ रहेका सबै सरकारी कार्यालयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पानी नदिएसमम्म छाक नटर्ने अवस्था छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बल कोइलाबासका प्रमुख केपी चौधरीले भारतबाट पानी खाइरहेको बताउनुभयो। ‘यहाँ खानेपानीका सरकारी योजना धेरै आए पनि संरक्षणका कारणले सफल नहँदा खानेपानीका लागि पारीको सहयोग माग्नुपरेको हो’, उहाँले भन्नुभयो– ‘हामीलाई भाइचाराको नाताले एसएसबीले खानेपानीका लागि सहयोग गरिरहेको छ।’

एसएसबीबाट सधंै हैरानी खेपिरहन परेको स्थानीयले बताइरहँदा सशस्त्रका निरीक्षक चौधरीले एसएसबीले असहयोग नगरेको दाबी गर्नुभयो। ‘कोइलाबासका स्थानीयलाई खानेपानी उपलब्ध गराउन एसएसबीले ठूलो मोटर चलाउने गरेको छ’, उहाँ भन्नुहुन्छ– ‘खानेपानीको हाहाकारको बेला अत्यन्तै सहयोग मिलेको छ।’ भारतीय सीमा सुरक्षा बल एसएसबीले गैरकानुनी रूपमा चोरेर नेपालको विद्युत्बाट डिप बोडिङ चलाएर पानी निकाल्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्