अग्निपीडितलाई सहयोगी हातहरू जुट्दै



सीताराम चौधरी, चन्द्रौटा

कपिलवस्तुका अग्निपीडितका घाउमा मल्हम लगाउन यति बेला सहयोगी हातहरू जुट्दै छन्। विभिन्न व्यक्ति, निकाय, संस्थासंस्थाले सहयोगी हातहरू अघि बढाएका हुन्।

गत चैत ३० गते भएको आगलागीबाट पीडित बनेका शिवराज नगरपालिका–१०, शीतलापुरका अग्निपीडितलाई सहानुभूति दिलाउनेको दैनिकी बनेको छ। घटना भएको चार दिन बित्दा आधा दर्जन बढी व्यक्तित्व, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायले विभिन्न किसिमको राहत उपलब्ध गराइसकेका छन्।

घटना भएको चौथो दिन चन्द्रौटास्थित ओम इलेक्ट्रोनिक्सले खाद्यान्न वितरण गरेको छ। ओम इलेक्ट्रोनिक्सका प्रबन्धक महादेव पोखरेल पीडित बस्तीमा पुगी त्यहाँका ३० घरपरिवारलाई राहत प्रदान गर्नुभएको छ। उहाँले प्रतिपरिवार १५ किलो चामल, ५ किलो दाल, २ किलो आलु, १ लिटर खानेतेल, १ किलो नुन र दुईओटा टिसर्ट वितरण गर्नुभएको थियो। पोखरेलले यही ६ गते छोरीको विवाहको तयारीमा रहेका नन्हे रैदासलाई नगद २ हजार र १ जना घाइतेलाई १ हजार नगद प्रदान गर्नुभएको थियो।
राहत वितरण कार्यक्रममा समाजसेवी रामवेलास यादवले चर्को गर्मीमा पीडितहरूले पाएको दुःख कष्टलाई महसुस गर्दै घर बनाउन आवश्यक काठपातका लागि वन कार्यालय, साझेदारी वनसँग समन्वय गरी छिट्टै व्यवस्था गराउन भरपुर पहल गर्ने आश्वासन दिनुभयो। वरिष्ठ समाजसेवी देवकुमार भारतीले शितलापु आगलागीबाट सर्वस्व गुमाएका ३३ परिवारलाई भारतीले खाद्यान्नको रूपमा चामल, महिलालाई १ थान साडी र पुरुषको लागि एउटा टिसर्ट वितरण गर्नुभयो। शनिबार नै माओवादी केन्द्रका नेता अदालत मनिहारले ५ किलो चामल, ५ किलो गहुँ र एक थान कम्बल पीडित परिवारलाई राहत स्वरूप वितरण गरेको बताइएको छ।
यसै गरी काठमाडौंको मीन भवनस्थित क्विक भोलेन्टियरको टोली अग्निपीडित बस्तीमा पुगी शनिबार औषधि वितरण गरेको थियो। क्विक भोलेन्टिरका जितेन ठाकुर, दिपेन थापालगायतले पीडितहरूलाई प्राथमिक उपचारका रूपमा अत्यावश्यक औषधि वितरण गर्नुभएको हो।
यसअघि शुक्रबार चन्द्रौटा उद्योग वाणिज्य संघले सिद्धार्थ हार्डवेयर बुटवलको सहयोगमा खाद्यान्न तथा भाँडाकुँडा प्रदान गरेको थियो। उद्योग वाणिज्य संघका अध्यक्ष नेतृत्वको टोली पीडित बस्तीमा पुगी खाद्यान्नको रूपमा एक बोरा चामल तथा भाँडाकुँडामा गिलास, थाल, बाल्टी, जगलगायतका सामग्री वितरण गरेका थिए।
यसै गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले कपिलवस्तुको शीतलापुरका अग्निपीडितलाई शनिबार राहत वितरण गरेको छ। प्याब्सनका केन्द्रीय सदस्य कृष्ण केसीको नेतृत्वको टोलीले ३० घरपरिवारलाई चिउरा, चाउचाउ, सर्फ र साबुन वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्