वर्ष २०७३ ले गुमाएका कलाकर्मीहरू



रश्मी थापा
हालै मात्र बिदा लिएको वर्ष २०७३ ले केही विषयमा दुखद् पनि सावित भएको छ। नेपाली कला क्षेत्रमा भएका विभिन्न घटना र विवाद यो क्षेत्रका लागि वर्ष २०७३ दुखद् रहन पुग्यो। यो वर्ष केही कलाकर्मीसमेत यो धर्तीबाट बिदा भऐ। आज यहाँ प्रस्तुत गरिएको छ, वर्ष ०७३ मा नेपाली कला क्षेत्रले गुमाएका कलाकाहरुको सम्झना ः

माघ १ गते ३० वर्षीय र्यापर यम बुद्ध ‘अनिल’ ले बेलायतको लन्डनमा आत्महत्या गरे। मोरङ अस्थायी घर भएका उनी आफंैले लगाएको बेल्टले घाँटीमा कसेर बाथरुममा झुन्डिएका थिए। उनको साथी म आउँदै छु, मेरो जुत्तामा, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुआत, नाचन, आमालगायत दर्जनौं गीत चर्चित छन्।

गत वर्षको शुरुआतमै क्याराभान नामक फिल्मबाट नेपाली हिरोको रूपमा विश्वमा चिनिएका थिन्ले डोन्लुप लामाको निधन भयो। गत वैशाख १४ गते डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पुख्र्यौली घर फर्कने क्रममा उनी सवार घोडालाई विपरीत दिशातर्फबाट आइरहेको खच्चरले धक्का दिएपछि घोडासँगै लडेका उनी कहिल्यै नउठ्ने गरी बिदा भए।

उनी सन् १९९९ मा फिल्म क्याराभानमा खेलेसँगै नेपाली फिल्मको हिरोको रूपमा स्थापित भएका थिए। दुनै साल्वाङको नुन र खाद्यान्न ओसारपसार गर्ने चौरीको संघर्षपूर्ण कथामा आधारित क्याराभान ७२आंै संस्करणको ओस्कार एकेडेमी अवार्डमा बेस्ट फरेन फिल्मको उत्कृष्ट ५ को मनोनयनमा परेपछि थिन्लेको चर्चा ह्वात्तै बढेको थियो। आफ्नो प्रख्यातिलाई माथिल्लो डोल्पाको विकास र समृद्धिका लागि उपयोग गर्दै आएका थिन्ले कर्णाली क्षेत्रकै सामाजिक अभियान्तासमेत थिए। क्याराभानपछि इकु ब्याक अगेन र गायक अमृत गुरुङको म्युजिक भिडीयो सा… कर्णालीमा अभिनय गरेका उनले दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए।

– वर्ष २०७३ मै दुई वर्षअघिदेखि ब्रेन ट्युमरका उपचार गराइरहेका पत्रकार तथा गीतकार सूर्यकुमार क्षत्रीको निधन भयो। उनको वैशाख १६ गते माइतीघरस्थित राति अन्नपूर्ण न्युरो अस्पतलमा उपचारको क्रममै मृत्यु भएको थियो। शिक्षा पत्रकार सञ्जाल (इजोन) का कार्यसमिति सदस्य रहेका उनी प्रेस युनियनका सचिवसमेत थिए।

उनी २०७१ साल मंसिरदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका थिए। २०५५ सालदेखि पत्रकारिता शुरु गरेका उनले उज्यालो नाइन्टी नेटवर्कका लागि काम गर्दै आएका थिए भने नेपाल समचारपत्रको पाल्पा पूर्वसंवाददातासमेत रहेका थिए। २०६० को आसपासमा उनी शब्द रचनामा नेपालका अब्बल गीतकारको रूपमा रहेका थिए। औंठी चिनो छ, धोका दिनेलाई के भनौं र खै, धानको सिरौला जस्ता लोक तथा तिम्ले माया सधैं सधैंजस्ता चर्चित आधुनिक गीत उनले रचना गरेका थिए।

-गत जेठ २१ गते चित्र कलाकार चिरन खड्काको उपचारको क्रममा चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भयो। निमोनियाको संक्रमणपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। गन्जरा–४ अछाममा जन्मिएका उनले सन् १९८० मा मुम्बईको जेजे स्कुल अफ आर्टबाट चित्रकलामा स्नातक गरेका थिए।

– गत साउन २५ गते निजी क्षेत्रको पहिलो फिल्म माइतीघर निर्देशन गरी थापथलीस्थित हालको माइतीघरको नामाकरण गराउने ख्यातिप्राप्त निर्देशक बीएस थापाको ९३ वर्षको उमेरमा निधन भयो। उनको भारतको बर्सोपा रोड अधेरीस्थित निवासमा निधन भएको थियो। पत्नीको निधनपछि एक्लै बस्दै आएका उनी आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए। २०३३ सालमा माइतीघर फिल्म निर्देशन गरेका उनको पहिलो फिल्म नै हिट भएको उनले निर्देशन गरेका कान्छी र मायाप्रीति पनि हिट भएका थिए। उनी यसभन्दा अघि पनि बलिउडमा स्थापित थिए। उनले बलिउड हस्ती सुनील दत्तको अजन्ता आर्टसमा रहेर निर्देशन क्षेत्रमा सक्रिय थिए। त्यस जमानाको सुपरहिट बलिउड फिल्म रेश्मा और शेरामा सुनील दत्तसँग एसोसियट निर्देशक बजनेर काम गरेका थिए।

ध भदौ ६ गते निर्माता, फोटोग्राफर तथा फोटोकन्सर्नका अध्यक्ष डीबी (डम्बर बहादुर) थापाको निधन भयो। माया प्रीति, सिनेमास्कोप फिल्म माइली तथा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाको संयुक्त लगानी रहेको जीवनज्योति जस्ता फिल्मको निर्माता थापाको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

ध सदावहार लोक शैलीको गीत वारि जमुना पारि जमुनाका लोकप्रिय गायक खेमराज गुरुङको पनि अल्पायुमै गत भदौ ९ गते निधन भयो। जन्डिस बिग्रिएपछि अस्पताल भर्ना भएका उनको थप उपचारका लागि परिवारले दिल्ली लैजाने तयारी गरिरहेको बेला चावहिलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो। उनी लिभर सिरोसिसबाट ग्रसित थिए। २०५४ सालमा जीवन नामक एल्बम ल्याएका उनले पछि जीवन–२ नामक एल्बम पनि ल्याएका थिए। गीत–संगीतमा अगाडि बढ्ने क्रममा धरान पोखरा, सोल्टी, मेरो ढंगै पुगेन, आलु तामा, ढाक्रे, घुमफिर नामक एल्बमका गीतबाट उनले लोकप्रियता हासिल गरेका थिए।
-भदौ २२ गते ख्यातिप्राप्त तबलावादक पण्डित होमनाथ उपाध्यायको निधन भयो। कलेजोको क्यान्सरबाट पीडित उनको चावहिलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो।

– लोकप्रिय गायक सुनील बर्देवाले पनि गत वर्ष अल्पायुमै संसार छोडे। जन्डिसको समस्याबाट ग्रसित उनको उपचारको क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो। २०२८ सालमा महाराजगन्जमा जन्मिएका उनी गोरेटो अनि उस्तै छ गल्ली बोलको गीतबाट चर्चामा आएका थिए। उनी कुशल गायक, गीतकार एरेन्जर र गितारिस्ट पनि थिए।

– कात्तिक १७ गते हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला बोलको कालजयी गीतका गायक तथा संगीतकार डीबी महेश पाल्पाली (दौलतविक्रम शाह) को ८३ वर्षको उमेरमा निधन भयो। २० र ३० को दशकमा लोकप्रिय रहेका पाल्पालीको बुटवलस्थित निवासमा निधन भएको हो। उनको जल्यो जल्यो तन जल्यो, आउँदिन म जाँदै छु, माया फिर्ता लिँदै छुजस्ता गीतहरु चर्चित छन्।

– गत मंसिर १० गते गायक रुवि जोशीको उपचारको क्रममा निधन भयो। पुल्चोकस्थित निदान अस्पतालमा मृगौला उपचारका लागि डाइलोसिस गर्दै गरेका अवस्थामा उनले संसार छोडेका थिए। उनको कान्छी मट्याङ ट्याङ, शितलुमाथि नै शितलु छायो नि, तिम्रो पनि माया लाग्छजस्ता गीत चर्चित छन्।

– पुस ७ गते दृष्टिविहीन लोकगायक तथा संगीतकार मधुबाबु थापाको काठमाडौंको अनामनगरस्थित निवासको बाथरुममा लडेर बेहोस भएपछि उपचारको क्रममा निधन भयो। रेडियो नेपालका जागिरे उनले दर्जनांै लोकगीत, भजन तथा आधुनिक गीतहरुमा स्वर तथा संगीत दिएका छन्। २०१० सालमा दाङमा जन्मिएका उनले चन्द्रकला शाहसँग गाएको मोहनी लगायौ कि जन्तर गरेर कपाल कोरेर बोलको गीत लोकप्रिय थियो। जुन थारू भाषाबाट नेपालीमा उल्था गरेर नेपालीमा गाइएको थियो। थारू भाषाका गीतलाई नेपालीमा उल्था गरेर गाएका गीतमध्ये घोराही बजारमा बोलको गीत लोकप्रिय थियो।

-फिल्म छक्का पञ्जा पाइरेसीका आरोपीमध्येका एक कृष्ण सुवेदीले आत्महत्या गरे। २५ वर्षीय उनले आफ्नो डेराको फ्यानमा गलबन्दीले पासो लगाएर आत्महत्या गरेका थिए।

– माघ १२ गते ८६ वर्षको उमेरमा गायक तथा संगीतकार पन्नाकाजी शाक्यले पनि संसारबाट बिदा लिए। तिरिरी मुरली बज्यो वनैमा, पुरानो मेलोडीको किन किन तिम्रो तस्वीर मलाई प्यारो लाग्छ, लोलाएका ती तिम्रा नयनजस्ता सदाबहार कालजयी गीतका मूर्धन्य गायक तथा संगीतकार उनी अभिनयमा पनि त्यत्तिकै दख्खल राख्थे।

– ख्यातिप्राप्त कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको उपचारको क्रममा माघ १६ गतेको दिन निधन भयो। क्यान्सरबाट ग्रस्त उनको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो। नेपाल भाषाको मौलिक विधा ख्यालका प्रणेता मानिने उनले गाईजात्राममा देखाइने ख्याललाई डबलीदेखि प्रज्ञा भवनको हलसम्म पुर्याएका थिए। उनले नेपाल भाषाको १२ बजेलगायतका विभिन्न टेलिफिल्मको लेखन तथा निर्देशन गरेका थिए। उनलाई नेपाल भाषाका जीवन्त अभिनेताको रूपमा लिइन्छ।

 

प्रतिक्रिया दिनुहोस्