पुष्प व्यवसायमा १५ करोडको लगानी



काभ्रे, (नेस)
राजधानीमा प्रयोग भएकामध्ये कट फ्लावर उत्पादन काभ्रेपलाञ्चोक जिल्लाबाट २५ प्रतिशत धानेको फ्लोरिकल्चर एसोसिएसन काभ्रेका अध्यक्ष भोजराज तिमल्सिनाले जानकारी दिनुभयो। झण्डै १५ करोड रुपियाँ लगानी रहेको जिल्लाका पुष्प व्यवसायमा ३० भन्दा धेरै व्यवसायी सहभागी भएका छन्।
अध्यक्ष तिमल्सिनाका अनुसार करिब १० हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिरहेका व्यवसायीले ५ सयभन्दा धेरैलाई रोजगारी दिइरहेका छन्।

त्यसमध्ये झण्डै ७० प्रतिशत महिलाले रोजगारी पाएको उहाँको भनाइ छ। तिमल्सिनाका अनुसार पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन निम्ति दीर्घकालीन योजनाको अभाव, दक्ष तथा आवश्यक जनशक्तिको अभाव, न्यून भौतिक साधन स्रोत, ग्रिन हाउस, कोल्ड रुम, रेफ्रिजरेटेड भ्यान, उद्यमशीलता, अनुसन्धानमा सरकारको लगानी र राजनीतिक अस्थिरता व्यवसायको विकासमा बाधक रहेको छ।
नगरकोट र धुलिखेल, नमोबुद्ध र पलाञ्चोक जस्ता धार्मिक र पर्यटन क्षेत्र भएको, उपभोक्ताको आय स्रोतमा वृद्धि हुँदै गएको, जैविक विविधता र सरकारी दृष्टिकोण सकारात्मक हुँदै गएकाले पुष्प व्यवसायमा आकर्षण बढ्न थालेको उहाँको भनाइ छ। एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले सरकारी निकायमा नै रहेको अपर्याप्त संरचना, व्यावसायिक शिक्षा, सूचना र तालिमको अभाव, प्रविधि र प्राविधिकको उपलब्धतामा कमी, पोष्ट हार्भेट क्षति र दक्ष कामदार पलायनले पुष्प व्यवसायको विस्तारमा कठिनाई भएको बताउनुभयो। पुष्प उत्पादक क्षेत्रको पहिचान, नयाँ–नयाँ भौतिक सरंचना र अन्तर्राष्ट्रियस्तरमा समेत बजारको माग बढेकाले चुनौतीसँगै अवसर बढेको उहाँको भनाइ थियो।
वार्षिक १ अर्ब ३४ करोड रुपियाँभन्दा बढीको पुष्प कारोबार हुने भएकाले आयात घटाउँदै निर्यातमा जोड दिन व्यावसायिक खेतीतर्फ आकर्षित हुनुपर्ने व्यवसायीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्