नेपाल प्रत्यारोपण खेलकुद सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
नयाँवर्ष २०७४ सालकोे उदयसँगै मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक, ललितपुरको संयुक्त आयोजनामा आठौं नेपाल प्रत्यारोपण खेलकुद सम्पन्न भएको छ।

उक्त खेलकुद प्रतियोगिताअन्तर्गत अंग प्रत्यारोपितहरूको पुरुषतर्फ १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दौड, महिलातर्फ १ सय मिटर र २ सय मिटर दौड तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो। पुरुष १ सय मिटर दौडतर्फ विष्णुलाल श्रेष्ठ पहिलो, हरिबहादुर तामाङ दोस्रो र रुलबहादुर आले तेस्रो भएका थिए।

त्यसै गरी पुरुष २ सय मिटर दौडतर्फ विष्णुलाल श्रेष्ठ पहिलो, प्रेमरत्न मानन्धर दोस्रो तथा स्वजन मानन्धर तेस्रो भए। पुरुष ४ सय मिटर दौडतर्फ प्रेमरत्न मानन्धर पहिलो, हरिबहादुर तामाङ दोस्रो र रुलबहादुर आले तेस्रो भएका थिए।
महिला १ सय मिटर दौडतर्फ गीता श्रेष्ठ पहिलो, तुलसा भट्टराई दोस्रो र सानुशोभा शाक्य तेस्रो भएका थिए। त्यसै गरी महिला २ सय मिटर दौडतर्फ पनि गीता श्रेष्ठ पहिलो, तुलसा भट्टराई दास्रो र सानुशोभा शाक्य तेस्रो भएका थिए।
त्यसै गरी ब्याडमिन्टनतर्फ पुरुष भेट्रान (४५ वर्षभन्दा माथि) को समूहमा प्रेमरत्न मानन्धर पहिलो, विष्णुलाल श्रेष्ठ दोस्रो र राजेश्वर कायस्थ तेस्रो भएका थिए। त्यसै गरी पुरुष ४५ वर्षभन्दा मुनिको उमेर समूहमा हरिबहादुर तामाङ प्रथम, राजकुमार लिम्बु दोस्रो तथा रुद्रबहादुर विक तेस्रो भएका थिए। महिला ब्याडमिन्टनतर्फ लीला गुरुङ प्रथम, लक्ष्मी महर्जन दोस्रो तथा गीता श्रेष्ठ तेस्रो भएका थिए।
उक्त प्रतियोगिताको सबैभन्दा रमाइलो पक्ष अंग प्रत्यारोपितहरू र प्रत्यारोपण गराउने चिकित्सक, नर्स, समाजसेवी, राजनीतिज्ञ तथा पत्रकारहरूबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो। जुन निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक थियो। उक्त फुटबल खेलको अन्तिम मिनेटमा प्रत्यारोपितहरूको तर्फबाट १ गोल भई अंग प्रत्यारोपितहरूको टिम १–० गोलले विजयी भएको थियो।
अंग प्रत्यारोपितहरू पनि स्वस्थ व्यक्ति सरह सक्षम र उत्पादनशील जीवन व्यतित गर्न योग्य छन् भन्ने सन्देश दिन र अंगदाताहरूको मनोबल उच्च राख्न यस किसिमको प्रतियोगिता विगत ८ वर्षदेखि आयोजना गरिँदै आएको कुरा वरिष्ठ अंग प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो।

उहाँले आगामी २०७५ वैशाख १ गते दक्षिण एसियाली प्रत्यारोपण खेलकुदको आयोजना गरिने र यस पटकको विजयीमध्येबाट २ जना प्रत्यारोपितलाई यसै वर्षको जुन महिनामा स्पेनको मालागामा आयोजना हुने विश्व प्रत्यारोपण खेलकुदमा सहभागी गराइने जानकारी दिनुभयो।
उक्त समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री दलजित बीके श्रीपालीले प्रत्यारोपीतहरूलाई सीपमूलक तालिम दिई उत्पादनशील नागरिक बनाउन मद्दत गर्ने घोषणा गर्नुभयो र प्रत्यारोपण खेलकुदको प्रभावकारिता वृद्धि गर्न सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो।

यस प्रतियोगिताका संयोजक ओलम्पियन ध्रुवविक्रम मल्लले सबै सहभागीहरूलाई धन्यवाद िदनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्