विराटनगर किंग्स प्लेअफमा पुग्यो



नेपाल समाचारपत्र
काठमाडौं
विराटनगर किंग्स धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) प्रतियोगितामा अर्को चरणमा पुग्ने दोस्रो टोली बनेको छ।
शरद् भेषवाकरको कप्तानीमा रहेको टोली विराटनगर किंग्स शनिबार भएको खेलमा कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुगेको हो। टोलीले तेस्रो जित हात पार्दै ६ अंक जोडेको छ। अघिल्लो दिन रूपन्देही च्यालेन्जर्स प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको थियो। उता कञ्चनपुरका सागर पुनले ५ विकेट लिएर उत्कृष्ट बलिङ गरे पनि टोलीको उद्धार गर्न सकेनन्। विनोद भण्डारीको टोलीका लागि तेस्रो हारले प्लेअफमा पुग्ने सम्भावना कठिन समेत बन्यो।

विराटनगर किंग्सका लागि बलिङ नै घातक बनेको थियो। सुशील कँडेल र सन्दीप लामिछानेले ४–४ विकेट बाँडेपछि कञ्चनपुर अलआउट हुँदै ८० रनमा समेटियो। जसमा हसिम अन्सारीले सर्वाधिक २७ रन योगदान दिए। कञ्चनपुरको ब्याटिङ धराशयी गरेका सुशीलले ४ ओभरमा ८ रन मात्र खर्चंदा सन्दीपले त्यति नै ओभरमा २८ रन दिएका थिए।

केवल ८१ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर ९.१ ओभरमा भेटाएको थियो। टोलीका लागि कप्तान शरद्ले २८ रन बनाए। उनले १५ बलको सामना गरेर ५ चौका र १ छक्का प्रहार गरेका थिए। आकाश थापाले १२, प्रनित थापामगरले ११, अनिल शाहले ८ रन बनाएका थिए। सागरले विराटनगरका पतन भएका पाँचै विकेट लिएका थिए। उनी जारी प्रतियोगितामा ५ विकेट लिने पहिलो बलरसमेत बने।

पारसको टोलीलाई पहिलो सफलता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको धनगढी टिम चौराहाले प्रतियोगितामा पहिलो जित हात पारेको छ। टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ११ रनले हराएर २ अंक जोड्न सफल भयो। टोलीको जितमा आरिफ शेखले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले अर्धशतक बनाउनुका साथै बलिङतर्फ ३ विकेटसमेत लिएका थिए।

एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले ८ विकेट गुमाउँदै १ सय ३६ रन जोडेको थियो। जसमा आरिफले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। काठमाडौं गोल्डेन्सका बलरमा सोमपाल कामी र मञ्जित श्रष्ठले ३–३ विकेट लिए।
जवाफमा वसन्त रेग्मीको टोली २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमै समेटिएको थियो। टोलीका लागि सन्दीप जोराले सर्वाधिक २८ तथा सोमपाल कामीले २४ रन बनाए तर यो जितका लागि पर्याप्त भएको थिएन। आरिफले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए।

जितपछि चौराहले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ भने काठमाडौंले बाँकी खेलको नतिजा कुर्नुपर्ने भएको छ। ६ टिम सहभागी प्रतियोगितामा सबै ५ खेल खेलिसकेको काठमाडौंको २ जित र ३ हारपछि ४ अंक छ। समान अंक रहेको सीवाईसी अत्तरियालाई रनरेटमा पछि पार्दै काठमाडौं तेस्रो स्थानमा छ। चौराहले भने ४ खेलबाट २ अंक मात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस्