मान्दैमान्दैन सेना



ईश्वरराज ढकाल, काठमाडौं

कुनै पनि घर निर्माण गर्दा निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनै पनि सामग्री जोड्न पाइँदैन। यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ।

तर, कतिपय सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रूपमा घर निर्माण गरिरहेका छन्। सबैभन्दा बढी कानुन उल्लंघन गर्ने संस्थामा नेपाली सेना देखिएको छ। नेपाली सेनाले महांकाल अगाडि निर्माण गरेको बहुउद्देश्यीय भवन निर्माण गर्दा काठमाडांै महानगरपालिकासँग सोधेको समेत छैन। नक्सा पास गर्न स्वीकृति पनि लिएको छैन।

‘सेनाले आफूलाई कानुनको पालना गर्नै नपर्ने निकायका रूपमा लिँदै आएको छ। कामपा नक्सा विभागले नक्सा पास गर्न पटकपटक ताकेता गर्दा समेत वास्ता गरेको छैन। कामपा मुख्यालय अगाडि पुस्तकालय निर्माण गरिरहेको छ। त्यसको पनि नक्सा पास गरेकै छैन। के गर्ने हामीले त सेनालाई नक्सा पास गर्न आग्रह गरेकै हांै, कहिल्यै पनि मानेन’, कामपा नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले लिखित रूपमा आग्रह गर्दा समेत मानेको छैन।

भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय बनाउँदा समेत नक्सा पास गरेको छैन। नारायणहिटीभित्र निर्माण भइरहेका अधिकांश सैनिक कार्यालयको समेत नक्सा पास गरिएको छैन।’

नेपाली सेनाले कानुनको पालना गर्नु नपर्ने हो ? यो विषयमा प्रश्न गर्दा नेपाली सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कठायतले प्रतिप्रश्न गर्नुभयो– ‘किन नपर्नु ? हामीले सबै निकायसँग सल्लाह लिएका छांै। नक्सा पास नै नगरी कसरी भवन बनाउने।’ नेपाली सेनाकै शैली पछ्याउँदै त्रिपुरेश्वरको निर्माणाधीन भेटेरिनरी केन्द्रीय कार्यालयको भवन पनि नक्सा पास नगरीकनै धमाधम निर्माण भइरहेको छ। कानुनी कारबाही गर्ने प्रसंगमा कामपा मूकदर्शक भएर बसेको छ।

नक्सा विभाग प्रमुख रवीन्द्र पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘खै के भएको हो नेपाली सेनाले निर्माण गर्दै गरेका अधिकांश भवनका नक्सा पास गरेकै छैन। हामीले त पटकपटक आग्रह गरिसक्यांै, मान्दै मान्दैन।’

नक्सा पास नगरी निर्माण गरिएका भवन निर्माण रोक्का गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा कामपाका विभागीय प्रमुख नाजवाफ छन्। सेनाका प्रवक्ता भन्नुहुन्छ– ‘हाम्रो इन्जिनियरिङ टिम छ। उसले दिएको आदेशअनुसार काम भइरहेको हो। हामीले सबै कानुनी प्रक्रिया पूरा गरेर निर्माण थालेका हौं। जहासम्म पुस्तकालय भवनको विषय छ। त्यो त सबैलाई अनसन्धान गर्न बनाइएको भवन हो, कानुन विपरीत गर्ने त कुरै आउँदैन।’ तर, कामपाका नक्सा विभाग प्रमुख पौडेल भन्नुहुन्छ– ‘कहाँ हुनु, हाम्रो कार्यालय अगाडि त्यत्रो भवन निर्माण भइरहेको छ। नक्सा पासका लागि कुनै प्रक्रिया पूरा गरेकै छैन।’

राजधानीमा निर्माण भइरहेका सम्पूर्ण भवनले नक्सा पास गरे पनि कतिपयले कामपाको इजाजत नै नलिईकनै तला थप गर्ने गरेका छन्। तर नक्सा पास नै नगरी भवन निर्माण गरेको घटना भने निकै कम छ –कामपाको दाबी छ। कामपाले गएको वर्ष करिब २ हजार ३ सय साना–ठूला भवनको नक्सा पास गरिसकेको छ। तीमध्ये चारवटा त ठूला होटल रहेका छन्।

नक्सा महाशाखा प्रमुख थापाका अनुसार लैनचौरमा लाशेर्पा, नक्सालमा एभरेष्ट, लाजिम्पाटमा मिराट, एनआरएन कम्प्लेक्स, चण्डोलमा मण्डलालगायतका भव्य होटल र भवन निर्माणाधीन क्रममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्