कहाँ हराए वैकल्पिक शक्ति ?



प्रशान्त वली, काठमाडौं
पुराना राजनीतिक शक्तिलाई विस्थापन गर्ने भन्दै मैदानमा उत्रिएका नयाँ राजनीतिक दलहरू अहिले के गर्दैछन् त ? आगामी वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गइरहेका बेलामा अहिले जनस्तरमा यो प्रश्न पनि उठ्न थालेको छ। ठूला दलहरूलाई चुनौती दिने भन्दै खोलिएका ती वैकल्पिक भनिएका दलहरूको गतिविधि भने त्यति प्रभावकारी देखिएको छैन। यद्यपि उनीहरूले आफूहरू चुनावी अभियानमा लागेको बताएका छन्। चुनाव चिह्न नपाए पनि राजनीतिक संस्कार स्थापित गर्न र अँध्यारो दिशामा उन्मुख राजनीतिलाई उज्यालोतर्फ पु¥याउन स्वतन्त्र रूपमा चुनावमा लड्ने नयाँ दर्ता भएका दलहरूले दाबी गरेका छन्।

अहिले नयाँ शक्ति नेपाल पार्टीसहित ६८ दलहरू चुनाव चिह्न पाउनुपर्ने भन्दै आन्दोलनरत छन्। संविधानमा नयाँ दल खोल्न पाउने अधिकार सुनिश्चित भए पनि निर्वाचन आयोगले निर्वाचन ऐनको बहानामा आफूहरूलाई चिह्न नदिएको साना दलहरूको तर्क छ। निर्वाचन आयोगले संसद्मा आबद्ध नभएका दलहरूलाई अझै चुनाव चिह्न दिएको छैन।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले अबको ७ वर्षभित्रमा गरिबी र बेरोजगारीको अन्त्य गर्ने मूल एजेन्डा लिएर चुनावमा उत्रिने तयारी थालेको छ। आर्थिक समृद्धि नै देशको विकास भन्दै आफूहरू चुनावमा होमिन लागेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य धीरज सेर्पालीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘अहिले ठूला दलहरूमा म नै ठूलो हुँ भन्ने अहमता छ।

उहाँहरूसँग एजेन्डा नै छैन। त्यसैले हाम्रो पार्टीले चुनावमा आर्थिक मुद्दा र सुशासनको नारा लिएर देशलाई कायापलट गर्ने सोच बनाएको छ। यसका लागि हामीले सबै जिल्लामा चुनावका लागि उम्मेदवार छनोट गरिरहेका छौं। हाम्रो पार्टी र संघीय समाजवादी फोरमबीच एकता अबको केही दिनमै हुन्छ। एकता नभए पनि स्वतन्त्र रूपमा चुनावमा भाग लिन्छौं।’ स्वाधीन, समृद्धि र समावेशी नयाँ नेपालको निम्ति नयाँ शक्ति भन्ने मूल नाराका साथ सो पार्टी अघि बढेको छ।

नयाँ शक्तिसँग मिल्न लागेको पार्टी संघीय समाजवादी फोरमको चुनाव चिह्न मसाल हो। ‘आफूहरूले सहयोगस्वरूप रकम उठाउने र पार्टी सदस्यतामार्फत् संकलन भएको रकमबाट पार्टी धानिएको’ नयाँ शक्तिका केन्द्रीय सदस्य सेर्पालीले जानकारी दिनुभयो।

यसै गरी विवेकशील नेपाली दलले मुख्यतः सात जिल्लालाई आधार मानेर चुनावमा सहभागिता जनाउने तयारी थालेको छ। काठमाडौं, कास्की, मकवानपुर, मोरङ, झापा, सुनसरी र कञ्चनपुरमा आफूहरूको राम्रो पकड रहेको सो पार्टीले बताएको छ। त्यसका लागि उम्मेदवार छनोट नीतिसमेत पारित गरेको छ।

राजनीतिक सुसंस्कार स्थापना र विकृत राजनीतिलाई सुसंस्कृत बनाउने एजेन्डा लिएर आफूहरू चुनावी दौडमा भाग लिन थालेको विवेकशील नेपाली समाजका केन्द्रीय सदस्य रञ्जु दर्शनाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेदवार बन्न चाहनेले पार्टीमा निवेदन दिनुपर्ने र नीतिअनुसार उम्मेदवार छानिने बताउनुभयो।

विशेषतः युवाहरूलाई प्राथमिकता दिँदै देशलाई भ्रष्टाचारमुक्त, सुशासनमैत्री र रोजगारमूलक समाजको निर्माण गर्ने कल्पनाका साथ स्थानीय निकायको चुनावमा भाग लिन लागिएकोे केन्द्रीय सदस्य दर्शनाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘दलहरू कुरा मात्रै गर्छन्, काम गर्दैनन्। अब काम गर्ने नेता खोजेको छ देशले। त्यसका लागि हामीहरू वैकल्पिक शक्ति हौं।’ विवेकशील नेपाली दलले हँसिलो अनुहार चुनाव चिह्न माग गरेको छ। विभिन्न शिविर सञ्चालन गर्ने साथै पार्टी सदस्यताको फर्मबाट उठेको रकम मुख्य स्रोत रहेका सो दलले बताएको छ। आफ्नो दल निर्वाचन आयोगमा पारदर्शी रूपमा पाँचौं स्थानमा रहेको पार्टीका केन्द्रीय सदस्य दर्शनाले बताउनुभयो।

पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ। स्थानीय स्तरमा देखिँदै आएको विकृत र गुटबन्दीयुक्त दलीय राजनीतीकरणका कारण क्षमतावान् व्यक्ति चुनावी राजनीतिमा किनारा लगाइएको जनाउँदै पार्टीले निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेको हो।

एक महिना अघि साझा पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो– ‘पार्टीका मूल्यमान्यता तथा आदर्शलाई आत्मसात् र प्रवद्र्धन गर्ने कुनै नेपालीले स्थानीय स्तरमा सहमति जुटाई स्थानीय निर्वाचनको कुनै पनि तहमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएको खण्डमा त्यस्ता उम्मेदवारलाई पार्टीले समर्थन गर्न सक्नेछ। पार्टी दर्ता भई नसकेकाले साझा पार्टी समर्थित उम्मेदवार भए पनि उनीहरूले साझा पार्टीको चुनाव चिह्न प्रयोग गर्न या साझा पार्टीको नाममा चन्दा उठाउन पाउने छैनन्।’ गाउँगाउँमा अहिले एकाइहरू निर्माण भइरहेको पार्टीले जनाएको छ। पद्दति, पारदर्शिता, इमानदारिता, उत्कृष्टता साझा पार्टीको मूल नारा रहेको छ। आर्थिक र राजनीतिक समृद्धि एवम् वर्तमान सत्तामा रहेका दलहरूको एकाधिकार तोड्नका लागि आफ्नो पार्टीले स्वतन्त्र रूपमा उम्मेदवारी दिने पार्टीका वरिष्ठ नेता मुमाराम खनालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

साझा पार्टीका नेता मुमाराम खनालका अनुसार पार्टी सदस्यताबाट उठ्ने लेबीबाट पार्टी चलेको बताउनुभयो। खनालले भन्नुभयो– ‘पार्टी भर्खरै गठन भएको छ। पार्टीलाई माया गर्ने शुभचिन्तक र हामी आफैंले पनि पैसा उठाएका छौं। पार्टीभित्र आर्थिक संयोजन समिति गठन भएको छ। अब योजना बनाएर अघि बढ्छौं।’ सो पार्टीले चुनाव चिह्नका लागि निर्वाचन आयोगमा तराजु चिह्न प्रस्ताव गरेको छ।
कमल थापा नेतृत्वको राप्रपासँग असन्तुष्ट भएर तीन हप्ताअघि गठन भएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले चुनावमा स्वतन्त्र उम्मेदवार खडा गर्ने भए पनि आधिकारिक निर्णय यही वैशाख ७ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने भएको छ। आफूहरूको मुख्य माग सनातन हिन्दु धर्म र राजतन्त्र रहेको पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘प्रजातन्त्रको नाममा ठूला दलहरूले सिन्डीकेट भिœयाएका छन्।

यो मनपरी तन्त्रको अन्त्यका लागि हामी जसरी भए पनि चुनावमा जान्छौं। अहिले जिल्लाका साथीहरू सम्मेलनमा व्यस्त हुनुहुन्छ।’ एकीकृत राप्रपा राष्ट्रवादीले हलो चुनाव चिह्न मागे पनि अहिलेसम्म पाएको छैन। आफ्नो पार्टी भर्खरै निर्माण भएको र अब बस्ने केन्द्रीय समितिको बैठकले आर्थिक संकलनका बारेमा धारणा बनाउने वरिष्ठ नेता विष्टले बताउनुभयो।

हालसम्म निर्वाचन आयोगमा दर्ता भएका दलले देशभरि एउटै चिह्न लिएर चुनावी प्रक्रियामा भाग लिँदै आएका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ उपदफा ६ मा ‘निर्वाचन चिह्न वितरण गर्दा राजनीतिक दलसम्बन्धी प्रचलित संघीय कानुनबमोजिम राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने’ उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्