मध्यपुरथिमिमा हर्षोल्लासका साथ मनाईयोे सिन्दुर जात्रा



पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुरथिमी क्षेत्रका वासिन्दाले शनिबार विहान हर्षोल्लासका साथ ३२ खट सहितको सिन्दुरजात्रा अर्थात सुथ ः सिया जात्रा मनाएका छन् । विस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाईने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो ।

थिमिमा मात्र मनाईने सिन्दुर जात्रामा विहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।

थिमिमा ३२ वटा खट सहभागि रथ बोकेर परम्परागत रुपमा सिन्दुर जात्रा मनाइएको छ ।यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै सिन्दुर जात्रा मनाइन्छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाईने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।

परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्