सयौँ मानिसका अगाडि जिब्रो छेड्दै कृष्ण



पुष्कर बुढाथोकी, भक्तपुर ।

बिस्केट जात्रा अन्तर्गत मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाईंदै छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेका मध्यपुर ठिमि नगरपालिका ८ बोडेका ४५ वर्षका बुद्ध कृष्ण वागश्रेष्ठले आज दिउसो सयौँ मानिसका अगाडि जिब्रो छेड्दै छन् ।

आज बिहानै जिब्रो छेड्ने कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न दिउँसो बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाइ नायखि बाजागाजाका साथ जिब्रो छेड्ने ब्यक्तिलाई मञ्चमा राखिन्छ ।नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको करिब १० इन्च लामो सुइरोले देवगणको पूजा एवम् प्रार्थना गरी सयाँै मानिसको अगाडि जिब्रो छेडिन्छ ।

जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेर जिब्रो छेड्ने ब्यक्तिले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने भनाई रहेको छ । जिब्रो छेड्ने व्यक्तिको घरमा आउनेजति सबैलाई दिनभर भोज खुवाउनुपर्ने परम्परा पनि रहेको छ ।

विगत आठवर्षदेखि जिब्रो छेड्दै आएका ३९ वर्षका जुजुभाई बाँसश्रेष्ठले पारिवारीक समस्याका कारण यसवर्ष जिब्रो नछेड्ने भएपछि जात्रालाई निरन्तरता दिन बुद्घकृष्णले जिब्रो छेड्ने घोषणा गर्नुभएको थियो ।

बुद्धकृष्णले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो । जुजुभाईले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण वागश्रेष्ठले र १२ वर्ष उहाँका दाजू कृष्णचन्द्र बागश्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्