नारायणघाट–मुग्लिन सडक सञ्चालनमा



चितवन, २ वैशाख । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो ।

राति पहिरो खसेपछि यात्रु अलपत्र परेका थिए । स्थानीय प्रशासनले सो ठाउँमा पटक पटक पहिरो खसेपछि दुर्घटनाको जोखिम भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

सडक विस्तारका क्रममा रहेको सो सडक खण्डको भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किमी नारायणगढतर्फ पर्छ ।

यसैगरी पहिरो खसेको स्थल नजिकै सडकबाट गए राति त्रिशूलीमा खसेका एक व्यक्तिको उद्धार गरिएको छ । नाम थर नखुलेका अन्दाजी ३५ वर्षीय ती पुरुषको टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ८ बजेतिर पहिरो खसेको स्थलबाट करिब १०० मि मुग्लिनतर्फ पैदल हिँड्दै गर्दा उनी चिप्लिएर त्रिशूलीमा खसेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्