५ सय विद्यार्थी शौच गर्न जंगलमा



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरको बाग्मती गाउँपालिका–१, माझगाउँमा रहेको सूर्य माध्यमिक विद्यालयमा पानीको समस्या यतिसम्म बढेको छ कि करिब ५ सय विद्यार्थी शौच गर्न जंगलमा जाने गरेका छन्। विद्यालयमा वर्षौंदेखि पानी अभाव हुँदा खान र शौचालय प्रयोगमा समेत समस्या भइरहेको छ।

विद्यालयमा पक्की शौचालय भए पनि पानी अभावका कारण दिसापिसाबका लागि विद्यार्थी करिब आधा घण्टा हिँडेर जंगल तथा बाग्मती खोला किनारमा जानुपर्ने बाध्यता छ। ‘पानीको अभावका कारण शौचालय जान पढाइ नै छाड्नुपर्ने बाध्यता छ’, विद्यालयका प्रधानाध्यापक प्रमोद राईले भने– ‘विद्यार्थीमा शौचालय जाने बहानामा दिनभर पढाइ छाड्ने प्रवृत्ति छ।

विद्यालयमा एक गैरसरकारी संस्थाले करिब एक दशकअघि पक्की शौचालय निर्माण गरिदिए पनि पानी अभावका कारण प्रयोगविहीन छ। शौचालयमा पानी नहुँदा फोहोर र दुर्गन्धित बनेको छ। गाउँ नै पानीको समस्यामा रहेका कारण विद्यालयमा आउने विद्यार्थी केहीले बोतलमा पानी ल्याए पनि कोही दिनभर पानी नै नपिई विद्यालयमा अध्ययन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राईले बताए। ‘कोही विद्यार्थी झोलामा पानीको बोतल लिएर आउँछन् भने धेरै विद्यार्थी दिनभर पानी नै नपिई पढ्न बाध्य छन्’ –उनले भने।

पानीको समस्या समाधान गर्न दुई वर्षअघि एक धार्मिक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयमा ट्युबेल निर्माण भए पनि त्यसले लामो समय निरन्तरता पाउन सकेन।

विद्यालयको करिब २ वर्षअघि ट्युवबेल निर्माण गरिए पनि केही समयमा नै ट्युबवेलबाट पानी आउन छाडेपछि पानीको समस्याले झनै पिरोलेको विद्यालयले जनाएको छ। ‘६० फिट गहिरो ट्युबवेल बनाइए पनि हिउँदयाम लागेसँगै पानी सुक्यो’ –प्रधानाध्यापक राइले भने। राईगाउँका अन्य केही विद्यालयमा समेत खानेपानी समस्याको कारण विद्यार्थीको पढाइ प्रभावित भइरहेको अभिभावकको भनाइ छ।

अभिभावक राजकुमार श्रेष्ठका अनुसार माझगाउँमा वर्षौंदेखि खानेपानी समस्या भए पनि कुनै निकायले यसबारे चासो नदेखाएको गुनासो गरे। ‘गाउँमै पानीको हाहाकार छ, हिउँदमा बाग्मतीको किनार खोस्रिएर पानी निकाल्छौं, वर्षायाममा त्यही पनि बगाउँछ’ –श्रेष्ठले भने। गाउँनजिक भएका खहरे खोल्सीहरू सुक्दै गएपछि यहाँ टिक्नै नसक्ने भएको छ।

खानेपानी समस्याका कारण विद्यालयको छात्राबासमा अध्ययन गर्न बस्ने विद्यार्थीको पनि पढाइ प्रभावित भइरहेको छ। गाविसकै विकट स्थान तथा सिन्धुली जिल्लादेखि अध्ययनका लागि छात्रबासमा बस्ने विद्यार्थीले खाना पकाउन, नुहाउन, तथा शौचालय प्रयोग गर्न टाढाबाट पानी जुटाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राईले बताए।

विद्यालयका शिक्षक÷कर्मचारी दिसापिसाबका लागि गाउँलेका घरहरूमा धाउनुपर्ने बाध्यता छ। ‘खानेपानी समस्या समाधानका लागि पाइप तथा धारा बनाउन नजिक पानीको मुहान छैन’, उनले भने– ‘भएका कुवा, इनार सुक्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्