मोहन दुवाल
नेपाली साहित्यिक क्षेत्रमा गच्छेअनुसारको स्फूर्ति बोकेर आफ्नो दायित्व निभाइरहेका रामप्रसाद पन्त चिनाइरहनुपर्ने नाम होइन। सरकारी सेवामा नोकरी बजाएर बचेको समय जोहो गरी साहित्यिक सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेर आफूलाई देखाइरहेका साहित्यिक यात्री हुन् रामप्रसाद पन्त। दायित्व वाङ्मय प्रतिष्ठानमार्फत साहित्यिक दायित्व निभाएर आफूलाई समर्पित तुल्याइरहेका यिनी कविता, कथा, उपन्यास, नियात्राका सङ्ग्रहरू प्रकाशित गराएर सक्रिय साहित्यकारका रूपमा क्रियाशील छन्।
साहित्यिक संस्था चलाउनु, साहित्यिक पत्रिका प्रकाशन गर्नु, साहित्य लेख्नु भनेको गरिमामय र महत्वपूर्ण कार्य हुँदाहुँदै यो ज्यादै जोखिम र सङ्घर्षपूर्ण कार्य मानिन्छ। यस खालका बौद्धिक कार्यहरू गरेर थाक्न नजानेका साहित्यकार पन्तको जन्म वि.सं. २०१० पुस २३ गते गुल्मी जिल्लाको टक्सार दार्सिङ्वासमा भएको हो। शिक्षामा स्नातकोत्तरसम्म उत्तीर्ण गरिसकेका यिनी जागिरको सिलसिलामा विश्वका थुप्रै राष्ट्रहरू घुमिसकेका छन्।
दायित्वमार्फत यिनले पुयाइरहेको साहित्यिक सिर्जना र क्रियाकलापहरू उदाहरणीय र सम्झन लायकका छन्। रामप्रसाद पन्तले आफूलाई साहित्यिक यात्रीका रूपमा मात्र चिनाएनन्, यिनले आफूलाई सफल स्रष्टाका रूपमा चिनाउन पनि सफल छन्।
साहित्यिक हैसियत बनाउनु भनेको धेरै गाह्रो विषय हो, यही गाह्रो विषयमा यिनले आफ्नो हैसियत बनाइसकेका छन्। विभिन्न पत्रपत्रिकामा विविध साहित्यिक विधामा कलम चलाउँदै आइरहेका यिनी आफ्ना सिर्जनाहरूलाई पुस्तकाकारका रूपमा सम्प्रेषण गर्न पनि सिपालु छन्। काठमाडौंमा बसेर साहित्यमा आफ्नो परिवेश बनाइसकेका यिनले आफूले जस्तो आफ्ना मित्रहरूलाई पनि साहित्यिक दायित्व बोकाउन तल्लीन छन्।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष। दायित्व साहित्यिक पत्रिकाका प्रधानसम्पादक। एकजना स्रष्टा, एकजना द्रष्टा हुन् रामप्रसाद पन्त। एकजना सफल कथाकार। एकजना नियात्राकार। एकजना निबन्धकार। एकजना उपन्यासकार। विविध साहित्यिक विधामा आफूलाई विभाजित राखी साहित्यकारका रूपमा चिनाउन सफल रामप्रसाद पन्तका लेख–रचनाहरू रोचक र पठनीय मात्र छैनन्, यिनका लेख–रचनाहरू समाजोपयोगी छन्।
उनका प्रकाशित कृतिहरूमा उपन्यासतर्फ विरानो बस्तीमा (२०४४) र तीन आमाका छोरा (२०५७) छन् भने खण्डकाव्यतर्फ वेदनाका लहरहरू (२०४७) प्रकाशित भएका छन्। यसै गरी स्मृतिग्रन्थमा रामचन्द्र शर्मा (२०५९) र नियात्रातर्फ जापान भ्रमणका केही सम्झनाहरू (२०५८), यात्रा र अनुभूति (२०६०), पेट्रोनास टावरको सेरोफेरो (२०६३), बाह्रसूर्य ः सोह्रफन्को (२०६४) प्रकाशित भएका छन्। कथाहरुमा रुक्मी दिदी (२०६१) र सन्झयाल (२०६२) छन्।
विविध विधाका यी १० वटा पुस्तकहरूबाट प्रमाणित गर्छ रामप्रसाद पन्त सिर्जनाका हरफहरूमा कमजोर छैनन्। उनी सक्रिय सिर्जनाकर्मी हुन्। साहित्यलाई समाजका लागि बलियो शस्त्रका रूपमा प्रयोग गर्न रुचाउने पन्त साहित्य जीवन र जगत्को सौन्दर्यपूर्ण अभिव्यक्तिका रूपमा स्वीकार्छन्। असल मानिस बन्ने उनको इच्छा र आकाङ्क्षामा उनी बाँचेर मातृभूमिका लागि केही दिन सके मात्र पूर्ण सम्झिन्छन्। केही गर्न नसके जीवन अपूर्ण होला कि भन्ने डर बोकेर साहित्यिक पथमा लागिरहेका यिनी सरल जीवन बाँचेर उच्च मानवीय कार्य गर्न रुचाउँछन्।
स्व. गुणाकर र स्व. हरिकलाका छोरा भई जन्मेका रामप्रसाद पन्तले छोरा दुई र छोरी एकलाई जीवनवृत्तमा हुर्काएर, लक्ष्मी पन्तसँग जीवन साटासाट गरेर चावहिल, काठमाडौंमा बसोबास गर्छन्। विभिन्न साहित्यकारहरूको कृति पढेर साहित्यकार बनेका यिनी समाज परिवर्तनका लागि साहित्य आवश्यक छ भन्छन्। यस खालको अनुभूतिले नै यिनी साहित्यमा मन दिएर बाँच्न जानेका हुन् र साहित्यिक माहोलमा आफूलाई समर्पित गर्न र गराउन सिकेका हुन्। आफ्नो ‘मान्छे कस्तो हुनुपर्छ’ पहिलोचोटि कथा लेखेर साहित्यमा देखा परेका यिनी दायित्व साहित्यिक पत्रिकामार्फत साहित्य सम्प्रेषण गर्न पाउँदा खुशी व्यक्त गर्छन्।
थोरै–थोरै मात्र गरेजस्तो देखाएर सधैँ केही गरिरहने, केही लेखिरहने, केही छापिरहने नम्र मिजास र स्वभावका रामप्रसाद पन्तका साहित्यिक गतिविधिहरू रोचक र प्रभावकारी छन्। केही गरिरहँदा, केही लेखिरहँदा, केही छापिरहँदा नै पछि एउटा सुन्दर रूप बन्ने हो। त्यही साहित्यिक रूप हुन् पन्त। निरन्तर केही गरिरहेकै कारणले, निरन्तर केही लेखिरहेकै कारणले र केही छापिरहेकै कारणले काठमाडौंको साहित्यिक क्षितिजमा रामप्रसाद एउटा नाम बन्न सफल भइसकेका छन्।
जागिरको क्रममा यिनी धेरै ठाउँमा घुमे। भारत, चीन, जापान, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, कङ्गो, युगान्डा आदि देश घुमेर आफ्नो यात्राका कथाहरू लेख्न सफल नियात्राकार रामप्रसाद पन्त देवकोटा, बीपी कोइराला, शङ्कर कोइराला, पारिजातबाट विशेष प्रभावित छन्। विदेशी साहित्यकारहरूमा प्रेमचन्द, मोपाँसा, चेखव बनार्ड शा, अर्निष्ट हेमिंग्वेबाट यिनी प्रभावित छन्।
नियात्रा लेखनमा एउटा नाम बनाइसकेका यिनी जापान र मलेसिया भ्रमण र अन्य ठाउँको भ्रमणमा बटुलेका रोचक संस्मरणहरू लेखेर आफूलाई चिनाउन सफल छन्। ‘जापान भ्रमणका केही सम्झनाहरू’मा र ‘यात्रा र अनुभूति’ लगायत ‘पेट्रोनास टावरको सेरोफेरोमा’ यिनले आफ्नो यात्राका संस्मरणहरूमार्फत आफूलाई सफल नियात्राकारका रूपमा देखाउन सफल छन्।
सार्थक ढङ्गले ठाउँको परिचय दिएर दृष्टि–विम्बमा मान्छेलाई राखेर नियाल्न सफल हुनाकै कारणले यिनीद्वारा लिखित नियात्राका हरफहरू कमजोर देखिँदैन। यात्राका प्रसङ्गहरूलाई यात्रा निबन्धका रूपमा प्रस्तुत गर्न सिपालु भएकै कारणले यिनका नियात्राहरू पढिरहूँजस्तै लाग्छन्। जापान, मलेसियालगायत धेरै ठाउँको यात्रा–अनुभवहरू लेख्दालेख्दै यिनले आफ्नो देशभित्रका बेथितिहरूलाई विदेशसँग तुलना गरेर थुपै्र ठाउँमा आफ्नो देशको स्थिति वर्णन गर्दा चित्त दुखाएका छन्। सर्सती यात्राको वर्णन मात्र नभई अनुभूतिमार्फत विचार प्रसङ्ग र ठाउँको परिचय दिन सिपालु भएकै कारणले यिनका रचनाहरू स्वादिला छन्।
‘बाह्रसूर्य ः सोह्र फन्को’ (२०६४) देश भ्रमणबारे लेखिएको रामप्रसाद पन्तका नियात्रामा अर्को डोब हो भन्न सकिन्छ।
कथासङ्ग्रहमा ‘रुक्मी दिदी’ (२०६१) पछि यिनले ‘सन्झयाल’ (२०६२) प्रकाशित गराएका छन््। यथार्थवादलाई कथा उपन्यासमा देखाउन रुचाउने यिनका कथाहरू समसामयिक विषयका हुनाका साथै प्रगतिशील कथा सिर्जना गर्ने कथाकारका रूपमा चर्चा गर्न सकिन्छ। त्यस्तै उपन्यासमा पनि यिनले ‘विरानो बस्ती’को मात्र चर्चा गरेनन्। ‘तीन आमाका छोरा’लाई आफ्नै ढङ्गले नियालेका छन्।
थोरै मात्र कविता लेखे पनि खण्डकाव्य वेदनाका लहरहरूमार्फत काव्यानुभूति पोख्न भ्याएका यिनले ‘रामचन्द्र शर्माको स्मृतिग्रन्थ’ लेखेर आफूलाई व्यक्तिवृत्त लेख्न सिपालु लेखकका रूपमा पनि उभ्याएका छन्। रामप्रसाद पन्तका हालसम्म उपन्यास, काव्यकृति, नियात्रासङ्ग्रह, कथासङ्ग्रह, संस्मरणसङ्ग्रह, आत्मसंस्मरण आदि विधामा २३ वटा कृति प्रकाशित छन्।
उज्यालो मार्गमा लाग्न पाउँदा गौरव गर्न रुचाइरहेका, साहित्यमा दायित्व बोकेर लागिरहेका र निरन्तर लेखनमा आफूलाई लगाएर हिँडिरहेका एकजना स्रष्टा भएकै कारणले रामप्रसाद पन्त जनमतमा सम्प्रेषित भएका छन्।
रामप्रसाद पन्तले लेखेजस्तै म पनि साथ दिएर उहाँका लागि यी हरफहरू सापट लिएर भनिरहेछु– साहित्यिक संस्था चलाउनु, साहित्यिक पत्रिका प्रकाशित गर्नु वा साहित्य लेख्नु भनेको अत्यन्त गरिमामय र महत्वपूर्ण कार्य हो। यस्तो विशुद्ध साहित्य सेवा गर्नेले छट्याइँ, फट्याइँ धुत्र्याइँ गर्नुहुँदैन। तर यहाँ भइरहेछ, हुन खोजिरहेछ तर पनि हामीले दायित्वलाई नभुलौं।