चुनावको सरगर्मी बढ्दै



चोकदेखि चिया पसलसम्म निर्वाचनको चर्चा

गाउँ छिरे नेता

ललित सिंह, बझाङ
मो समयदेखि स्थानीय तहकोे निर्वाचन हुने भएपछि सदरमुकामदेखि गाउँगाउँका चोक तथा चिया पसलदेखि सबै ठाँउमा स्थानीय तहको निर्वाचनको चर्चा हुन थालेको छ। झन्डै दुई दशकदेखि स्थानीय तहको निर्वाचनका लागि सरकारले वैशाख ३१ गतेको मिति तय गरेपछि चुनावी बहस शुरू हुन थालेको हो।

स्थानीय तहको संरचनाअनुसार यस जिल्लामा पनि १० गाउँपालिक र २ नगरपालिकामा विभाजन गरेपछि कुन गाउँपालिकामा कुन पार्टीको जित हुन्छ र कुन उम्मेदवार हुन सक्छन् भनी बहस शुरू हुन थालेको छ। चोकदेखि चिया पसल, कार्यालयदेखि भट्टी पसलसम्म स्थानीय तहको निर्वाचनको परिचर्चा हुन थालेको छ।

राजनीतिक दलहरू पनि गाउँ सम्मेलन तथा निर्वाचनमा भिड्ने उम्मेदवारहरूको तयारीमा व्यस्त रहेका छन्। सरकारको नेतृत्व गरेको माओवादी केन्द्र तथा सहयात्री नेपाली कांग्रेस भने गाउँ सम्मेलनमा व्यस्त रहेका छन् भने प्रमुख विपक्ष दल एमाले पनि निर्वाचन समितिको बैठक सकाएर आफ्नो तर्फबाट गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको तयारीमा जुटेको छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भ्रातृ संघ संगठनसहित घरदैलो अभियानमा जुटेको नेपाली कांग्रेसका सभापति हर्कजंगबहादुर सिंहले भन्नुभयो– ‘हामी गाउँ सम्मेलनमा जुटेका छौं गाउँगाउँ गएर कार्यकर्ता भेटघाटमा समेत तीव्रता दिएका छौं, चुनाव जित्नका लागि धेरै तयारी गर्नुपर्नेछ।’ निर्वाचन क्षेत्रीय समितिको बैठक सकिएको बताउँदै नेकपा एमालेका जयपृथ्वी नगरपालिकाका मेयरका उम्मेदवार सुरतबहादुर सिंहले भन्नुभयो– ‘नेकपा एमाले समेत गाउँ तथा घरदैलो अभियानमा गइरहेको छ, जिल्ला कमिटीको बैठकसँगै कार्यकर्तासँग भेटघाटमा जुटेको छ।’
२०७० सालको संविधानसभाको निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको कडा प्रतिस्पर्धा पछि एमालेले विजय हासिल गरेको थियो। जिल्लाभरि एमाले बलियो देखिए पनि थोरै मतान्तरले पराजय भोगेको कांग्रेस पनि त्यति कमजोर भने छैन। साविकको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ मा कांगे्रस बलियो देखिन्छ भने क्षेत्र नम्बर १ मा भने एमालेको जनमत बढी हुन सक्ने स्थानीयबासीको आँकलन छ। जिल्लाको काँडा, सुर्मा दौलिचौर, खप्तड छान्ना, बिथ्थड चिर, थलीदुर्गा गाउँपालिका र बुंगल नगरपालिकामा नेपाली कांग्रेसका बलियो हुन सक्ने स्थानीयको अनुमान छ भने जयपृथ्वी नगरपालिकासहित तल्कोट, मस्टा, थलारा, छबिस पाथीभेरा र केदार सन्स्यू गाउँपालिकामा एमाले बलियो देखिने आँकलन गरेको
सर्वसाधारण बताउँछन्। नेकपा माओवादी केन्द्र पनि प्रतिस्पर्धामा आउने देखिए पनि माओवादी केन्द्रको कुनै त्यस्तो खास क्षेत्र नभए पनि गाउँपालिकाका कुनै वडाहरूमा आउन सक्ने जानकारहरू बताउँछन। पछिल्लो समयमा राजनीतिक दलहरूप्रति स्थानीयको विश्वास खस्किरहेका बेला स्थानीय तहको निर्वाचनले भने यसमा थप चासो तथा ऊर्जा थपेको मानवअधिकारकर्मी दीर्घराज उपाध्यायको भनाइ छ। उहाँ भन्नुहुन्छ– ‘स्थानीय निकायको निर्वाचन नहुँदा नेताहरू थन्केका थिए तर अब यसले स्थानीय नेतामा ऊर्जा थपेको छ।’ विकास निर्माणका कामहरूमा खासै चासो नदेखाउने स्थानीय नेता भने सरकारले स्थानीय तहको मिति सार्वजनिक गरेपछि जनताको प्यारा हुन विभिन्न बहानाबाजी गरिरहेका छन्। छान्नाका स्थानीय बर्क रोकायाले भन्नुभयो– ‘नेताहरूले त सधंै जनताका पीरमर्का बुझ्नुपर्छ चुनावताका आएर मात्र हुँदैन।’
स्थानीय तहको निर्वाचनसँगै जिल्लामा भने निकै तडकभडक शुरू हुन थालेको छ। विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने र गराउने होडबाजी नै चलेको छ। झन्डै दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन हुने भएपछि स्थानीय क्षेत्रमा सबै पार्टीहरूमा आकांक्षीहरूको पनि तँछाडमछाड हुन थालेको छ।

स्थानीय नेताले टिकट पाउनका लागि लबिङ शुरू गरिरहेका छन् भने केही नेताहरू भने घरदैलो अभियानमार्फत् भोट माग्नका लागि जुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्