भक्तपुरमा जात्रैजात्रा रातमा पनि थिमीका बासिन्दा झुमे जात्रामा



पुष्कर बुढाथोकी, भक्तपुर
क्तपुरको मध्यपुर थिमीका बासिन्दाले मनाउने प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकाली जात्रा थिमीमा मनाइएको छ। विष्णुवीर जात्राको शुरूमा स्थानीय प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको छ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो। विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैं टोपी फुकालेर जाने परम्परा अहिलेसम्म रहेको उहाँले बताउनुभयो।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्याइ स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ।
त्यसै गरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायतका अन्य देवगणलाई सिन्दुर चढाइ आ–आफ्नो स्थानमा विराजमान गराएपछि जात्रा विसर्जन गरिने परम्परा रहको छ। थिमीका देवगणलाई पूजा गर्ने, बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराइ, बालकुमारीलाई योमरी जात्रा मनाइएको छ।

बालकुमारी÷दक्षिणवाराही जात्रा सम्पन्न
यता वैशाख १ गते राति ३ बजेदेखि शुरु भएको बालकुमारी तथा दक्षिण वाराहीे जात्रा शुक्रबार बिहान सम्पन्न भएको छ। यसलाई चान्हेसिया अर्थात रात्रीको जात्रा पनि भन्ने गरिन्छ। मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा राती बालकुमारीलाई थिमीको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराइ चान्हेसिया जात्रा शुरु गरिएको थियो।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा स्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ। त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ।

जात्रामा थिमीका अधिंकाश घरबाट निस्केको हजारौं चिराग बालेर र धिमाय बजाइ दक्षिणवाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेंस्थित दक्षिण वाराही मन्दिर परिक्रमा गराइ तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराइ बालकुमारी मन्दिरमा ल्याई पुर्याएर ५ पटक परिक्रमा गराए पछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरूलाई राखेपछि जात्रा सम्पन्न भएको थियो। यो जात्रा हिजो साँझ शुरु भइ आज बिहान बरिक चारबजे सम्पन्न भएको थियो।

चरखण्डी मन्दिरमा दर्शनार्थीको घुईचो
यता भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटार र ३ दधिकोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा शुक्रबार बिहान ३ बजेदेखि नै स्नान गर्नेको घुईचो लाग्यो। चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पूण्य प्राप्त हुने जनविश्वासका कारण यहाँ हरेक वर्ष वैशाख १ गते बिहानैदेखि दिनभरि नै दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।

किम्वदन्तीअनुसार सिकारीले मारेको भंगेरा चरखण्डीको पोखरीमा डुब्दा पुनः जीवित बनेको भनाइ रहेको स्थानीय संस्कृतकर्मी एवं अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो। यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्नेको भीड लागेको हो।

मन्दिर परिसरमा शरीरमा बत्ती बालेर बस्नेहरू पनि रहेका छन्। शरीरमा बत्ती बालेर बसेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजे देखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ। दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन्।

यता भक्तपुरको सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ। यहाँ गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले सञ्चालनमा ल्याएको जात्राअन्तर्गत गणेशको खट जात्रा गरिएको छ। यहाँबाट शुरु भएको खट जात्रा बालकोट र सिरुटारको टोलटोलमा परिक्रममा गरी पुनः मन्दिर परिषर मै आएर समापन गरिएको छ।

त्यसै गरी भक्तपुरको सुडालमा पनि २ वटा खटसहितको जात्रा सञ्चालन गरिएको छ। खटलाई विभिन्न टोलको परिक्रमा गराइ बाजागाजाका साथ पूजा गरेर जात्रा मनाइएको छ। त्यसै गरी कुटञ्जेको शुसिल भैरवमासमेत बिहानैदेखि खट जात्रा गरी भव्य मेला लागेको छ।

प्रतिक्रिया दिनुहोस्