अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध अमेरिकाले महाबम खसाल्यो



‘मदर अफ अल बम्स’ प्रहारमा ३६ जिहादी मारिए

काबुल÷वासिङ्टन, (एजेन्सी)

अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्ला अब्दुल्लाले बिहीबार इस्लामिक स्टेटलाई निसाना बनाउँदै अमेरिकाले खसालेको विश्वकै सबैभन्दा ठूलो बमले नागरिकलाई कुनै नोक्सान नपुगेको दाबी गरेका छन्।

पूर्वी अफगानिस्तानस्थित गुफामा बनेका घरहरूमा भएको उक्त हमला अफगानिस्तान सरकारसँगको तालमेलमा भएको उनले जानकारी दिए। यसअघि उक्त आक्रमणका लागि अफगान सरकारलाई कुनै जानकारी नदिएको समाचारमा जनाइएको थियो।

अफगानिस्तानका रक्षा अधिकारीहरूले उक्त हमलामा ३६ जना कट्टरपन्थी मारिएको बताएका छन्। एक जना स्थानीय लडाकू समूहका सदस्यले आफूले एक भयानक विस्फोट सुनेको र त्यसपछि आगोको पहाडै देखेको बताए। अफगानिस्तानमा अमेरिकी रक्षा बलका प्रमुख जनरल जोन निकोल्सनले जिहादीविरुद्ध चलाइएको अभियानलाई प्रभावकारी बनाउन उक्त बमको प्रयोग गरेको बताए।

अमेरिकी सेनाले उसले पहिलोपटक आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो गैरपारमाणविक बमको प्रयोग गरेको जनाएको छ। जीबीयू–४३ नामको यो बमलाई ‘मदर अफ अल बम्स’ को नामले चिनिन्छ। यसअघि सन् २००३ मा यसको परीक्षण गरेको थियो तर यसको प्रयोग यसअघि कहिल्यै पनि भएको थिएन।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त आक्रमणको पुष्टि गर्दै उसको एउटा विमानले अफगानिस्तानको नांगहार प्रान्तमा उक्त बम खसालेको जनाएको छ। त्यसको निसाना इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटका कट्टरपन्थी लुक्ने स्थानलाई बनाएको पेन्टागनले जनाएको छ। यो आक्रमण गत हप्ता अफगानिस्तानमा आईएससँगको लडाइँका क्रममा अमेरिकी सैनिक मारिएपछि भएको हो।

बलमे अफगानिस्तानमा इस्लामिक स्टेट समूहको सुरक्षित मानिएका आश्रयस्थललाई ध्वस्त बनाएको पेन्टागनले दाबी गरेको छ।

उक्त मदर अफ अल बम्सको तौल ९ हजार ८ सय किलोग्राम थियो र यो ३० फिटभन्दा लामो थियो। अमेरिकाले हमलाको नतिजालाई पुष्टि गरेको छैन तर एक स्थानीय अधिकारीले बीबीसीलाई हमलामा थुप्रै आईएस कट्टरपन्थी मारिएको र त्यसमा एक जना आइएसका ठूलै नेताको भाइ पनि परेको बताएका छन्।

सावधानीपूर्वक खसालियो
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसले भने– ‘हामीले सुरुङ र गुफाको ती हिस्सालाई निसाना बनाएका थियौं, जसलाई आईएसका लडाकूले स्वतन्त्रपूर्वक घुमफिर गर्न प्रगोग गर्दै आइरहेका थिए। त्यस क्षेत्रमा अमेरिकी सैन्य सल्लाहकार तथ अफगान सेनाका लागि उनीहरूलाई निसाना बनाउन सहज थियो। नागरिकहरूलाई नोक्सान नपुगुन् र वरपर क्षति कम होस् भन्ने हेतुले आवश्यक सावधानी अपनाइएको पनि उनले बताए।
अफगानिस्तानमा अमेरिकी सेनाका कमान्डर जनरल जोन निकोलसनले जिहादीहरूको पराजयमा वृद्धि भइरहेको र उनीहरूले आफूलाई बचाउनका लागि बन्कर तथा सुरुङको प्रयोग गरिरहेको बताए। त्यसबाट उत्पन्न बाधा कम गर्न र आफूहरूको हमलालाई गति प्रदान गरिरहन उक्त बम सही हतियार भएको उनले थपे।

उक्त समाचार पेन्टागनले सिरियामा एक हवाई आक्रममा गल्तीवश १८ विद्रोही मारिएको घटना स्वीकारेको केही घण्टापछि आएको हो। पेन्टागनले उसका एक सहयोगी सेनाले गल्तीवश उक्त लक्ष्यलाई आईएसको ठेगाना भएको ठानेका थिए। तर, अप्रिल ११ मा भएको उक्त आक्रमणमा मारिएका विद्रोही सिरियाली डेमोक्र्याटिक फोर्सका विद्रोही थिए। उक्त समूहलाई अमेरिकाले समर्थन गर्दै आइरहेको छ।
अफगानिस्तानमा आईएसले सन् २०१५ जनवरी मा आफ्नो खोरासन शाखा स्थापना गरेका थिए। खोरासन अफगानिस्तान र त्यसको वरपर इलाकाको पुरानो नाम थियो। आईएस अरबबाट बाहिर आएर आधिकारीरूपमा आफ्नो विस्तार गरेको यो पहिलो घटना हो। स्थानीय विद्रोहमा अफगान तालिवान प्रभुत्वलाई सीधा चुनौती दिने यो पहिलो ठूलो कट्टरपन्थी समूह थियो। यद्यपि उसले आफ्नो राजनीतिक आधार ठूलो पार्न संघर्ष गरिरहेको विशेषज्ञहरू बताउँछन्।

उनीहरूलाई अफगानिस्तानमा त्यहाँका नागरिकहरूबाट समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ। अफगानिस्तानमा आईएसको संख्या १ हजारदेखि ५ हजारको संख्यामा हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्