बालिकाको भग्नासा काट्ने डाक्टर पक्राउ



वासिङ्टन, (एजेन्सी)

अमेरिकी शहर डेट्रोइट निवासी एकजना महिला डाक्टरलाई कलिला बालिकाहरूको भग्नासा छेदन कार्य (एफजीएम) गरेको अभियोग लगाइएको शनिबार प्रहरीले जनाएको छ। अमेरिकामा भएको यस प्रकारको यो पहिलो घटना भएको सञ्चार माध्यमले जनाएका छन्।

सरकारी वकिलहरूले जुमाना नागरवाला नामक डाक्टरले विगत १२ वर्षदेखि ६ देखि ८ वर्ष उमेरका बालिकाहरूको भग्नासा काट्न शल्यक्रिया गर्दै आएको विश्वास गरेका छन्। सुराकीको सूचनाको आधारमा गुप्तचर अधिकारीहरूले उनी विरुद्ध अनुसन्धान थालेको बताइएको छ।

यदि उनी विरुद्ध लगाइएको अभियोग प्रमाणित भएको खण्डमा उनलाई अधिकतम आजीवन कारावास सँजाय हुनसक्ने बताइएको छ। अफ्रिकी मुश्लिम राष्ट्रहरूमा अझै पनि स्वास्थ्यका लागि निकै खतरा मानिने एफजीएम गरिने चलन रहेको छ। तर संयुक्त राज्य अमेरिकामा सन् १९९६ मा नै एफजीएममाथि प्रतिबन्ध लगाइएको थियो।

स्थानीय सञ्चार माध्यमले प्रारम्भिक सोधपुछका क्रममा डाक्टर नागरावालाले आफू त्यस्तो कुनै अवैध कार्यमा सरिक नभएको बताएको जनाएका छन्। डेट्रोइटको संघीय अदालतमा उपस्थित गराइएका उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्