भेनेजुएलामा आन्दोलन चर्कियो, पाँच जनाको मृत्यु



काराकस, (एजेन्सी)
भेनेजुएलामा चर्किंदै गएको सरकार विरोधी आन्दोलन जनआन्दोलनले उग्र रूप लिएको छ। गत बिहीबार बेलुका ठूलो हावाहुरी तथा मौसमी झरीको बाबजुद पनि राजधानी काराकसको पूर्वी क्षेत्रमा हजारौँ जनताले विरोध प्रदर्शन जारी नै राखेका छन्।

दुई साताअघिदेखि शुरु भएको यस्तो विरोध प्रदर्शन र जनआन्दोलन हिजोदेखि तेस्रो सातामा प्रवेश गरेको छ। आन्दोलनका क्रममा कलेजमा अध्ययनरत २ जना विद्यार्थी, २ जना सर्वसाधारण र १ जना तेह्र वर्षीय किशोरसमेत ५ जना आन्दोलनकारीको मृत्यु भइसकेको स्थानीय सरकारी अधिकारीले जनाएका छन्।

सरकारी सुरक्षाकर्मीहरूलाई नियन्त्रण गर्नै भ्याइनभ्याइ परोस भन्ने उद्देश्यले भेनेजुएलाका विपक्षी दलहरूले देशभरका ३ सय महानगरमा बिहीबार एकैपटक एउटै समय पारी विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए।

तर प्रायजसो स्थानमा भीषण आँधिबेहरी र वर्षाका कारण विरोध प्रदर्शन बिथोलिन पुगेको थियो। राजधानी काराकसमा निस्केको जुलुस शुरुमा अन्यत्रको तुलनामा शान्त देखिए तापनि प्रदर्शनीको अन्ततिर दंगा प्रहरीमाथि ढुंगामुढा गरिँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको थियो।

अश्रुग्याँसको असरबाट बच्न धेरैजसो प्रदर्शनकारीले अनुहारमा मकुण्डो, रसायनले भिजेको कपडा, चस्मा र अन्य उपकरण लगाएका थिए।

भेनेजुएलामा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले करिब बीस वर्षअघि समाजवादी क्रान्ति अघि सारेर विभिन्न सामाजिक सुधारका कार्यक्रम लागू गरी गरिब, निमुखा र विपन्नवर्गको आयआर्जन र जीवनस्तर उकास्न ठूलो राष्ट्रिय प्रयास गरेका थिए। स्वर्गीय राष्ट्रपति ह्युगो चाभेजको शासनकालपछि यस क्रान्तिले इमान्दारीतापूर्वक निरन्तरता पाउन सकेन।

उठ्न उठ्न लागेको गरिब र विपन्नवर्गको गति अवरुद्ध हुन पुगेकाले यो वर्गको आक्रोश बिस्तारै चुलिन पुगेको हो। पूर्व तथा वर्तमान सरकारका कदमहरूले समाजका सम्पन्न र अन्य वर्गहरू पनि बिस्तारै आक्रोशित हुँदै गए। यस्तै कारणले सामाजिक असन्तुष्टि चुलिँदै गइ बिस्फोटक जनआन्दोलनको रूप लिन पुगेको भनी भेनेजुएलाका राजनीतिक विश्लेषकहरू बताउँदछन्।

अहिलेको जनआन्दोलन झुपडी बस्तीबाट शुरु भएको हो। बिस्तारै यसमा ठूलो संख्यामा मध्यमवर्गीय जनता पनि सामेल भएका हुन्। आन्दोलनका पछिल्ला समयमा सम्पन्नवर्गले पनि सघाउन थालेकाले सरकारलाई आच्छुआच्छु परिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्