म्यानचेस्टर युनाइटेडले बराबरी खेल्यो



लन्डन, (एजेन्सी)
युरोपा लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र एन्डरलेक्टले बराबरी खेलेका छन्।

बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले बेल्जियन क्लब एन्डरलेक्टसँग १–१ को बराबरी खेलेको हो। खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाइटेडले हेनरिक मिखीतार्यानको गोलमार्फत अग्रता बनाएको थियो। मार्कस रासफोर्डको प्रहारलाई गोल रक्षकले क्लिएर गर्न नसक्दा रिबाउन्डमा आएको बलमा हेनरिकले गोल गरेका थिए।

एन्डरलेक्टको मैदानमा महत्वपूर्ण जिततर्फ अग्रसर देखिएको युनाइटेडलाई खेलको चार मिनेट समय बाँकी रहँदा धक्का लागेको थियो।

एन्डरलेक्टका लिएन्डर डेण्डन्करले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले इभान ओब्राडोभिचको क्रसलाई गोलमा परिणत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्