एउटै बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने



नेपाल समाचारपत्र
काठमाडौं

एक व्यक्तिले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी बचत खाता खोल्न नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै एउटै व्यक्तिले एकभन्दा बढी खाता चलाउन र एटीएम कार्ड लिन रोक लगाएको हो।

राष्ट्र बैंकको निर्देशका अनुसार मुद्दती खाताको हकमा भने यस्तो व्यवस्था लागू हुने छैन। यसअघि यस्तो खाता भएमा एउटा मात्र खाता कायम गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

त्यस्तै कर्जा प्रवाह गर्दा लिने प्रशासिन शुल्क र प्रतिबद्धता शुल्कबाहेक कर्जासँग सम्बन्धित शुल्क ब्याजदर प्रतिबिम्बित गर्नुपर्ने र यसरी लिने शुल्कमा प्रशासिनक र प्रतिबद्धता शुल्कको फरक शून्य दशमलब २५ प्रतिशतभन्दा फरक हुनु नहुने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

यसैबीच नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ दशमलब ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ दशमलब ४ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ दशमलब ३ प्रतिशतले बढेको छ। फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ६ दशमलब ९ प्रतिशत, ३७ दशमलब ६ प्रतिशत र ३८ दशमलब ४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९ दशमलब १ प्रतिशत, ४४ दशमलब १ प्रतिशत र २८ दशमलब ५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५ दशमलब ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलब ८ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको १७ दशमलब ६ प्रतिशत र विकास बैंकहरूको ६ दशमलब ५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको ३ दशमलब ६ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २८ दशमलब ९ प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ८ दशमलब ५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १७ दशमलब ९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १४ दशमलब ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २२ दशमलब ४ प्रतिशतले बढेको छ। फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब २ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलब ७ प्रतिशत र १३ प्रतिशत रहेको थियो। असार मसान्तको तुलनामा फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा विस्तार भएको छ।

फागुनसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलब ६ प्रतिशत (४२ अर्ब ६९ करोड रुपियाँ) छ। त्यस्तै वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १४ दशमलब १ प्रतिशत (१० अर्ब २३ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ दशमलब २ प्रतिशतले बढेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्