तीन महिनाभित्र पुँजी बजार पूर्ण स्वचालित



नेपाल समाचारपत्र
काठमाडौं

नेपाल स्टक एक्सचेन्जले तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन शेयर कारोबार प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै नेप्सेको हालको पुरानो कारोबार प्रणालीलाई विस्थापन गर्दै पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ।

नेप्सेले लगानीकर्ताहरूको दोस्रो बजारमा पहुँचलाई सहज बनाउने गरी पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी कार्य अगाडि बढाइएको जानकारी दिएको छ।

पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयन भएपछि लगानीकर्ताले खरिद बिक्री गर्न ब्रोकरको अफिस जानु पर्दैन। ब्रोकरबाट एउटा युजर आइडी र पासवर्ड लिएपछि घरमै बसेर कारोबार गर्न सकिन्नेछन्। यसैबीच वर्ष २०७३ शेयर बजारमा निक्कै उचारचढावपूर्ण रह्यो। यस वर्ष साउन १२ गते नेप्सेले इतिहासकै उच्च विन्दू १८८१ अंक छुन पुग्यो। त्यस्तै फागुन १ गते वर्षको न्यून विन्दू १२ सय ५२ अंकमा झर्यो। वर्ष २०७३ को शुरूआत हुँदा नेप्से १४ सय ५ अंकमा थियो भने वर्ष सकिने अन्तिम दिनको कारोबार हुँदा नेप्से १६ सय ९७ अंकमा पुगेको थियो।

शेयर बजालाई आधुनिकीकरण गर्ने क्रममा आस्बा प्रणाली र डिम्याट प्रणालीमा लागू गरिएको यस वर्ष डिम्याटमा करिब ७ लाख ८६ हजार लगानीकर्ता आबद्ध भएका छन्। त्यस्तै यस वर्ष ब्रोकरको कमिसन ४० प्रतिशत घटेर शून्य दशमलब ४ देखि शून्य दशमलब ६ प्रतिशतमा सीमित रहनेगरी निर्णय भयो। त्यस बाहेक पुँजीबजारलाई काठमाडौं बाहिरका मु्ख्य शहरमा पनि पुर्याइएको छ।

वर्षको अन्तिम दिन नेप्से ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा हुँदा समग्र बजार पुँजीकरण १९ खर्ब ६४ अर्ब रुपियाँ भएको छ। यस दिन १४३ कम्पनीको १ अर्ब ४८ करोडको शेयर किनबेच भएको थियो। यसदिन एनसीसी बैंकको सबैभन्दा धेरै १७ करोडको शेयर किनबेच भयो। यस्तै गुराँस लाइफ इस्योरेन्सको ७ करोड ३४ लाख तथा सूर्या लाइफ इन्स्योरेन्सको पौने ६ करोडको सेयर किनबेच भयो।

कालिका माइक्रो क्रेडिट संस्थापक र युनाइटेड इन्स्योरेन्सको पनि ५ करोड बढीको शेयर किनबेच भएको छ।गोर्खाज फाइनान्स र सेती फाइनान्सको शेयर मूल्य १० प्रतिशतका हाराहारीमा बढेको छ भने अरुण फाइनान्स, देवः विकास बैंक, राष्ट्रिय बीमा कम्पनी तथा गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ता धेरै कमाउनेमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्